दुर्घटनामा ३७ जना विद्यार्थी घाइते

सुर्खेत : बराहताल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ३७ जना विद्यार्थी घाइते भएका छन् । बुधवार जनज्योति माध्यमिक विद्यालयबाट मौरीपालन अवलोकनमा गएका विद्यार्थीहरू दुर्घटनामा परेका हुन् ।

विद्यालयले अमलाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको भे १ त ९५८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कर्णाली राजमार्गमा पर्ने बड्डिचौर–तल्लोडुङ्गेश्वर सडक खण्डको बराहताल–५ हल्दुमा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको हो । जनज्योति माध्यमिक विद्यालय बड्डिचौरमा भेटेरीनरी जेटीए विषयमा अध्ययनरत विद्यार्थीहरू सवार ट्याक्टर हल्दुमा दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३५ जनाको अवस्था सामान्य भए पनि दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका–९ का दिपेन्द्र गुरुङ्ग र नारायण नगरपालिका–७ दैलेखका सनम राना छन् । दिपेन्द्र गुरुङ्गलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए । अन्य घाइतेहरूको भने प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घटना लगत्तै बड्डिचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीहरूको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो । ट्याक्टरका चालक बराहताल गाउँपालिका–५ का चन्द्रबहादुर अर्खाली मगर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।