‘श्रमिकलाई अधिकारबाट वञ्चित गरियो’

सुर्खेत : योगदानमा आधारित सामाजिक सुरक्षा दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधवार मनाइएको छ । संयुक्त टे«ेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा सभा र दीप प्रज्वलन गरी दिवस मनाइएको हो । ‘रोजगारदाताः म श्रमिक, मेरो सूचीकरण गर, सरकारः सूचीकरण पूर्ण कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै संयुक्त टे«ेड युनियन समन्वय केन्द्रका संयोजक तेजप्रकाश जि.सी.ले सूचीकरण अवधि समाप्त हुँदै गर्दा प्रदेशका रोजगारदाताहरूले कोषमा सहभागिता नहुनु लाजमर्दो भएको बताए । यसले आम श्रमिकहरू सामाजिक सुरक्षा योजनामा समावेश हुनबाट वञ्चित हुनुपरेको बताए ।

‘जेटीयूसीसी सबै श्रमिकहरूको पक्षमा विभिन्न सचेतनामूलकका काम गर्दै आइरहेको छ’ उनले भने ‘प्रदेशका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन दवावमूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै जानेछौं ।’ रोजगारदाताहरूको भ्रममा नपर्न श्रमिकहरूलाई संयोजक जिसीले आग्रह समेत गरेका थिए । युनियनका प्रदेशका सदस्य ललित घर्तीले त्रिपक्षीय सम्झौतामा ऐन नियमावलीसहित कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताले आनाकानी गरेको आरोप लगाए ।

प्रकाशित मितिः   १२ मंसिर २०७६, बिहीबार ०९:३४