प्रादेशिक औद्योगिक क्षेत्रका लागि अध्ययन

सुर्खेत : प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको लागि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्राविधिक टोलीले सुर्खेतको लेकवेशी नगरपालिकास्थित चौरासेमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन थालेको हो । टोलीले मंगलवार सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग छलफल समेत गरेको छ । छलफलमा टोलीले भूगोलको हिसाबले पनि चौरासे प्रादेशिक औद्योगिक क्षेत्रका लागि उपयुक्त भएको जनाएको छ । औद्योगिक क्षेत्रका लागि टोलीले यसअघि साटाखानीमा जग्गा हेरिएको थियो । तर उपयुक्त स्थान नभएको भन्दै त्यहाँ औद्योगिक क्षेत्र स्थापना हुन नसक्ने प्राविधिक टोलीले जनाएको थियो ।

चौरासेमा वन फडानीमा समस्या भए पनि सुकुम्बासी बस्तीको समस्या नभएकाले त्यसक्षेत्रमा औद्योगिक क्षेत्रका स्थापना गर्न सकिने अध्ययन टोलीका संयोजक रामाशंकर जैसवालले बताए । केन्द्र सरकारको आर्थिक सहयोग तथा प्रदेश सरकारको समन्वयमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । यसका लागि एक हजार विगाहा जग्गा आवश्यक पर्ने जनाइएको छ । सम्भाव्यता अध्ययनमा आएको टोलीले कर्णाली प्रदेशको औद्योगिक क्षेत्रको पूर्ण सम्भाव्यता अध्ययन गरी अबको झण्डै एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

छलफलका क्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधारको सहयोग गर्न संघ तयार रहेको प्रतिबद्धता जनाए । प्रदेशका दशवटै जिल्लामा औद्योगिक क्षेत्रको विस्तार गर्न सकेमा समृद्ध कर्णाली बन्न सक्ने भन्दै उनले दिगो विकासका लागि उत्पादनमा जोड दिएका थिए ।

प्रकाशित मितिः   ११ मंसिर २०७६, बुधबार ०९:३३