प्राविधिक कक्षा चलाउन महायज्ञ
सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका–१ लेखफर्सामा प्राविधिक शिक्षा सञ्चालनको लागि आवश्यक रकम जुटाउन धार्मिक महोत्सव सञ्चालन गरिने भएको छ । विद्यालयमा भेटेरेनरी र कम्प्युटर इन्जिनियरिङ्ग सञ्चालनको लागि यही मंसिर १४ देखि २० गतेसम्म लेखफर्सा शैक्षिक धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मूल समितिले धार्मिक महोत्सव गर्न लागेको जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक मोहन थापाले प्राविधिक शिक्षालय स्थापनाका लागि रकम अभाव भएकाले सहयोग संकलनका गर्नको लागि महायज्ञको आयोजना गरिएको जानकारी दिए । साताव्यापी रूपमा सञ्चालन हुने महायज्ञमा संकलन भएको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना गरेर विद्यार्थीहरूको पठनपाठनमा खर्च गरिने छ ।
आदर्श माध्यमिक विद्यालयको आयोजनामा हुने महायज्ञको लागि एक हजार आठ जनाको समिति गठन गरिएको छ । सात दिनसम्म सञ्चालन हुने महोत्सवको लागत खर्च १५ लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिब दुई करोड रूपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले लेखफर्सामा प्राविधिक कक्षाहरू सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्नुपरेको संयोजक थापाले बताए । महोत्सवमा कथावाचक पण्डित बन्धुराज खनालले प्रवचन दिने कार्यक्रम तय भएको छ भने अन्य कलाकारहरूको पनि विभिन्न प्रस्तुति रहने भएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायक प्रजापति पराजुली, पशुपति शर्मा, हास्यकलाकार सुरविर पण्डित, कलाकार कुलमान नेपाली लगायतको सहभागिता रहने भएको छ । महोत्वमा दैनिक १० देखि दिउँसो ४ बजेसम्म कथा प्रवचन, साँझ ६ देखि ९ बजेसम्म भजनकिर्तन तथा झाँकी प्रदर्शन गरिने छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा आर्थिक अभाव धेरै हुने भएकाले नै पहिलो पटक महायज्ञ सञ्चालन गर्न लागिएको थापाले बताए । महायज्ञको सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य ध्रुवकुमार शाहीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मितिः ११ मंसिर २०७६, बुधबार ०९:३२
साझा बिसौनी ।