राजनीति जागिर होइन सेवा हो

कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाह घरका माइला छोरा हुन् । वनगाड कुपिण्डे नगरपालिका–७ सल्यानमा जन्मिएका उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक समेत हुन् । वि.सं. २०२४ साल वैशाख १३ गते बुवा रोमहर्षबहादुर शाह र आमा झरनाकुमारी शाहको कोखबाट जन्मिएका उनको राजनीतिक यात्रा अरुको भन्दा फरक छ । उनका बुवा प्रधानपञ्च थिए । नजानिँदो ढङ्गबाट राजनीतिक यात्रा सुरु गरेका उनी भने बहुदलका समर्थक थिए । उनको राजनीतिक प्रेरणाका स्रोत विद्यालयका गुरु र उनका माइला बुवा हुन् । राजनीति जागिर नभइ सेवामूलक क्षेत्र भएको बताउने गुलाबजङ्ग शाहले आफ्नो राजनीतिक यात्राको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटे:

नजानिँदो ढ·बाट राजनीतिमा प्रेरणा मिल्यो

म सानैदेखि पढाइमा उत्कृष्ट थिएँ । विद्यालयमा पनि अरुभन्दा बाठो थिएँ । मेरो बुवा प्रधानपञ्च हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्थ्यो, जहाँ म अध्ययनरत थिएँ । बुवालाई छोराछोरीले पढाइमा राम्रो गरुन् भन्ने अपेक्षा थियो । हामी सात भाइ र एकजना बहिनी गरी आठ भाइबहिनी हौं । मेरो घरमा एकजना कपिलवस्तु घर भएको नेपाली विषय अध्यायपन गराउने शिक्षक बस्नुहुन्थ्यो । श्री कृष्णा माध्यमिक विद्यालय संग्राही सल्यानमा उहाँले अध्यापन गराउनुहुन्थ्यो । मलाई लाग्छ त्यो बेलामा उहाँ अस्थायी शिक्षक हुनुहुन्थ्यो । विद्यालयमा उहाँलाई हटाउने कुरा चलेछ । सरले मलाई नुहाउन जाने क्रममा आफ्नो बसाइँ आजमात्रै भएको कुरा बताउनुभयो । त्यो बेलामा म कक्षा ६ मा पढ्थेँ । मेरो मनमा जिज्ञासा बढ्यो सरलाई किन हटाउन थालियो ? विद्यालयमा गएपछि मैले साथीहरूलाई भनें र ईन्टरवलको समयमा कक्षा बहिष्कार गर्ने निर्णय सबै साथीहरूले गर्यौं ।

विद्यालयले सरलाई स्थापित गर्ने निर्णय गरेपछि मात्रै हामीहरू कक्षामा प्रवेश ग¥यौं । त्यो अन्यायको विरुद्धमा लडेको पहिलो घटना थियो । त्यसरी नै मैले राजनीतिको नजानिँदो ढङ्गबाट सुरुवात गरेको हुँ । वि.सं. २०४० सालमा एसएलसी पास गरेपछि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्नको लागि गएँ । विभिन्न विद्यार्थी संगठनहरूले स्वागत कार्यक्रमको आयोजना गरे । तर मलाई अखिल नेपाल विद्यार्थी संगठनप्रति आकर्षण बढ्यो । त्यसपछि प्रारम्भिक कमिटीमा आवद्ध भएर काम गरेँ । क्याम्पस जीवनपछि सल्यान– काठमाडौं सम्पर्क कमिटीको सचिव हुँदै उपाध्यक्ष भएँ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्दी्रय सदस्य हुँदै सल्यान जिल्ला कमिटी सदस्य र जिल्ला सचिव समेत भएँ । राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय कमिटी सदस्य, राप्ती अञ्चल सह–इन्चार्ज भइ हाल नेकपा सल्यान जिल्ला सह–इन्चार्ज र केन्द्रीय कमिटीको सदस्य समेत रहेर काम गर्ने मौका पार्टीले प्रदान गरेको छ । पढाइमा त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट राजनीतिशास्त्रमा एमए गरेको छु ।

माइला बुवाले बहुदलको पाठ पढाउनु भयो

वि.सं. २०३७ सालमा जनमत संग्रहमा निर्दल र बहुदल भन्ने दुई फरक धार थियो । मेरो बुवा पञ्चायत अर्थात् निर्दलको पक्षमा हुनुहुन्थ्यो भने मेरो माइलो बुवा बहुदलको पक्षमा हुनुहुन्थ्यो । म मात्रै १३ वर्षको थिएँ । मेरो बुवाहरूले मेरो माइलो बुवाको छोराको नाममा मलाई भोटरको रूपमा राख्नुभएको थियो । माइलो बुवाको छोरा काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो । बुवालाई के कुरामा विश्वास थियो भने आफू पञ्चायत भएको नाताले छोराले घात गर्दैन निर्दललाई नै भोट हाल्छ भन्ने  । तर मेरो माइलो बुवाले मलाई बहुदलको पाठ सिकाइसक्नु भएको थियो । मैले त्यो बेलामा बहुदललाई नै भोट हालेँ । त्यसरी राजनीतिमा म पञ्चायतको छोरो भए पनि बहुदलको पक्षमा उभिएको थिएँ ।

राजनीति एकदमै अप्ठ्यारो क्षेत्र पनि हो । राजनीतिलाई मात्रै पेसा बनाएको खण्डमा मान्छे सफल हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ । म दुईपटकसम्म असफल भएर पनि राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने मेरो मनमा कहिल्यै आएन । २०५६ सालको प्रतिनिधिसभा निर्वाचन र २०७० सालको संविधानसभाको निर्वाचनमा म पराजित भएको थिएँ । राजनीतिक क्षेत्रमा जनतालाई थुप्रै आश्वासन पनि बाँडिएको छ । ती सबै पूरा भएका छन् भन्ने त छैन । तर जनताको चेतनास्तरलाई भने निकै उचाईमा पु¥याएको महसुस गरेको छु ।

राजनीतिमा कहिल्यै वितृष्णा जागेन

राजनीति जागिर होइन सेवामूलक पेसा हो । राजनीतिलाई र आर्थिक कुरालाई कहिल्यै जोड्न सकिँदैन । अन्यायको विरुद्धमा निरन्तर संघर्ष गर्नुपर्छ भन्ने प्रेरणा पनि राजनीति क्षेत्रबाटै मिलेको हो । तर २०५० सालमा जब मदन भण्डारीको जीप दुर्घटना भयो त्यसपछि केही निराशा पलाएको थियो । सायद राजनीतिक जीवनको सबैभन्दा दुःखदायी क्षण मेरो लागि त्यही हो । राजनीतिक यात्रामा मेरो सुखद् क्षण भनेको जब नेकपा माओवादी र नेकपा एमाले एक भएर निर्वाचनमा होमिए । त्यो क्षण मेरो खुशीको क्षण हो तर म उम्मेदवार भएर होइन कि अब नेपालमा पनि राजनीतिक स्थायित्व कायम हुन्छ भन्ने हिसाबले ।

राजनीति फोहोरी खेल हो भन्ने प्रवृत्ति पनि छ । तर राजनीतिकै कारण संसार बदलिएको छ । राजनीतिमा खराब आचरण जहाँ पनि हुन्छ त्यसलाई सुधार्दै सकारात्मक बाटोमा हिँड्नु नै असल राजनीतिज्ञको धर्म हो । मलाई राजनीति क्षेत्रमा छु भन्दा गर्वको महसुस हुन्छ । समृद्धि ल्याउने कुरामा राजनीतिको ठूलो भूमिका हुन्छ । मेरो पारिवारिक कुरा गर्दा मेरो जीवनसंगिनी सावित्री राणा मगर विद्यार्थी राजनीतिमा थिइन् । त्यही क्रममा हाम्रो भेट भएको थियो । हाल उनी वीर अस्पतालमा नर्सको रूपमा कार्यरत छन् । एकजना छोरा छन् उनी डाक्टर छन् ।

प्रकाशित मितिः   ११ मंसिर २०७६, बुधबार ०९:३०