अन्यायविरुद्ध उभिदै महिला

सीता वली,
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सुर्खेतकी रूपा (नाम परिवर्तन)ले प्रेम विवाह गरेका आफ्नै श्रीमान्विरुद्धको उजुरी लिएर अदालत धाउनुपर्ला भनेर कल्पनासम्म पनि गरेकी थिइनन् । पूर्ण भरोसाका साथ १९ वर्षको उमेरमै भागेर विवाह गरेकी उनी यतिबेला अंशसहित सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत पुगेकी छिन् । यो उनको आफूमाथि भएको अन्यायविरुद्धको कदम हो ।

२७ वर्षीया रूपाले वि.सं. २०६८ सालमा विवाह गरिन् । विवाह भएको ६ महिनादेखिनै घरपरिवार र श्रीमान्बाट घरेलु हिंसा सहनुप¥यो । दाइजो नल्याएको र अरुसँग बोलेको निहुँमा उनले हरेक रात श्रीमान्को कुटाइ खाइन् । श्रीमान् नेपाली सेनामा जागिरे भए पनि उनले घरखर्चको लागि कहिल्यै आर्थिक सहयोग पाइनन्, न त आफैले केही काम गर्ने अवसर नै पाइन् । दश कक्षासम्म पढेकी रूपाले श्रीमान्को दवावकै कारण एसएलसी परीक्षा पनि दिन समेत पाइनन् । आठ वर्षसम्म श्रीमान् र परिवारको हिंसा सहेर बसे पनि असैह्य भएपछि भने उनी न्यायका लागि अदालत पुगेकी हुन् । उनले अहिले जिल्ला अदालत सुर्खेतमा श्रीमान्को नाममा अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । ‘श्रीमान्को कुटाई धेरै खाएँ’ उनले भनिन् ‘माइतीको इज्जत जान्छ भनेर आठवर्षदेखि हिंसा सहँदै आएकी थिएँ । अब अतिनै भएपछि सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छु ।’ महिलाहरू हिंसा सहँदै गए पुरुषहरूको हिंसाप्रतिको मनोबल झन् बढ्ने देखेपछि उनले न्यायको बाटो खोजेको बताउँछिन् ।

वीरेन्द्रनगर–१० की २८ वर्षीया दीपा (नाम परिवर्तन)लाई श्रीमान्ले दोस्रो विवाह नगर्ने बेलासम्म उनले गरेको हिंसा पनि मायाजस्तै लाग्थ्यो । नेपाल प्रहरीमा जागिरे उनका श्रीमान्ले शारीरिक, मानसिक र यौनहिंसासम्म गर्न भ्याए । दोस्रो विवाहपछि उनीमाथि श्रीमान्की दोस्रो श्रीमतीले पनि हिंसा गर्न थालिन् । ‘६ महिनाकी छोरी हुँदा श्रीमान्ले दोस्रो विवाह गर्नुभएको हो’, दीपाले भनिन् ‘पहिले श्रीमान्ले मात्रै कुट्ने गरेकोमा पछि सौताले पनि कुटपिट गर्न थालिन् ।’ पीडा सहनै नसक्ने भएपछि भाउजुको सहयोगमा जिल्ला अदालत सुर्खेतमा अंश मागको मुद्दा दायर गरेको उनले बताइन् । ‘अहिले छोरी र म छुट्टै बसेका छौं’ उनले थपिन् ‘धेरै पटक परिवारबाट हिंसाको मारमा पर्दा आत्महत्याको प्रयास गरेकी पनि हुँ । अहिले सम्झँदा पनि पछुतो लाग्छ ।’

पढाइमा एसएलसी पास गरेकी उनी अहिले सक्षम भएको बताउँछिन् । उनी भन्छिन् ‘मैले हिंसा सहेर बसेको भए आज सक्षम हुने अवसर मिल्दैनथ्यो । स्वतन्त्रता पनि पाउँदैनथें । अहिले मलाई साँच्चै जीवन पाएको महसुस हुन्छ ।’ रूपा र दीपा त प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्, पछिल्लो समय आफ्नो अधिकारको लागि आाफै न्यायलयको ढोकासम्म पुग्ने महिलाहरूको संख्या बढ्दै गएको छ । जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भूपाल भण्डारीले अदालतमा आउने मुद्दामध्ये ६० प्रतिशत मुद्दा महिलाहरूकै आउने गरेको बताए । उनले गत साउन महिनादेखि मंसिर पाँच गतेसम्म जिल्ला अदालत सुर्खेतमा महिलामाथि भएका घरेलु हिंसाका २१ वटा घटना दर्ता भएको बताए । अदालतमा घरेलु हिंसा, मानाचामल, बलात्कार, अंशवण्डा, बहुविवाहलगायतका मुद्दा दर्ता हुने गरेको भण्डारीले जानकारी दिए । पछिल्लो समय महिलाहरूका मुद्दा बढ्नुको कारण अधिकार प्रयोग गर्नुपर्छ भन्ने चेतनाको वृद्धिले भएको उनको बुझाइ छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका शाखा सुर्खेतका अनुसार घरेलु हिंसाको तीन वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष मुद्दाको संख्या बढ्दो रहेको छ । शाखाका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा तीन सय ७२ घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा चार सय ५९ मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा चार सय ६६ घरेलु हिंसाका घटना दर्ता भएको कार्यालयले जानकारी दिएको छ । यसरी हेर्दा घरेलु हिंसाका घटना बढेको देखिए पनि न्यायका लागि महिलाहरूको जागरुकता बढेको प्रहरी बताउँछ । महिलाहरू सचेत बनेकाले उजुरी बढेको बताइन्छ ।

महिलाहरूको पक्षमा निरन्तर वकालत गर्ने अधिवक्ता गीता कोइरालाले पनि प्रत्येक वर्ष न्याय माग्न आउने महिलाहरूको संख्या बढ्दै गएको बताइन् । उनले महिलामा चेतना वृद्धि भएको बताउँदै महिला आर्थिक रूपमा सक्षम भएकोले आत्मबल बढेको बताइन् । ‘पहिले महिलाहरू आर्थिक रूपमा कमजोर थिए’ उनले भनिन् ‘शिक्षामा समेत महिला पु्रुषभन्दा पछाडि परेको कारण विभिन्न हिंसा सहन बाध्य थिए ।’ महिलामा चेतनाको वृद्धि हुनुका साथै कानुनको परिमार्जनले पछिल्लो समय महिलाहरूले न्याय खोज्दै आउने गरेको उनले बताइन् । एक वर्षको अवधिमा आफूले महिलाका एक सय १८ मुद्दा हेरेको जानकारी दिइन् । महिलाको सन्दर्भमा घरेलु हिंसा, अंशवण्डा, बलात्कार लगायतका मुद्दा बढी आउने गरेको उनले बताइन् ।

प्रकाशित मितिः   १० मंसिर २०७६, मंगलवार ०९:०८