विकास बजेट कार्यान्वयन गर्न जोड


सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विकास बजेट खर्च गर्न सुर्खेतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । सोमवार वीरेन्द्रनगरमा सुर्खेतस्थित कार्यालय प्रमुखहरूसँगको भेटघाटमा राज्यमन्त्री रावतले पूँजीगत बजेट खर्च नभएसम्म विकास नहुने भन्दै विकास खर्च बढाउन निर्देशन दिएका हुन् ।

‘नेतृत्व त आउँछ जान्छ स्थायी सरकार तपाईंहरू हो’ कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै राज्मन्त्री रावतले भने, ‘बजेट खर्च नहुने समस्या छ, यसलाई बढाउन सहयोग गर्नुस् ।’ पूँजीगत बजेट खर्च गर्न नसकेसम्म समृद्धि सम्भव नभएको भन्दै उनले विकास बजेट खर्च बढाउन निर्देशन दिए । कानुनी तथा नीतिगत समस्या भए सरकारले सहज बनाउने तर त्यसको कार्यान्वयनका लागि कर्मचारीहरू सहयोग हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री रावतले विगतमा बजेट खर्च गर्नका लागि कर्मचारी अभावलाई देखाउने गरिएको भए पनि अब समायोजनबाट कर्मचारीको व्यवस्थापन भएकाले विकास खर्च गर्नुपर्ने बताए । विकास खर्च गर्नका लागि सबै निकायमा दक्ष कर्मचारी नहुनु एउटा समस्या भए पनि उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने जनाए । अहिले तीनवटै तहका सरकारमा जनप्रतिनिधि भए पनि कर्मचारीको सहयोगविना पूँजीगत खर्च गर्न असम्भव रहेको रावतको भनाइ छ ।

सरकारले जनताका लागि विभिन्न कार्यक्रम ल्याएको तर जनताको पहुँचमा सहजै पुग्न नसकेको भन्दै राज्यमन्त्री रावतले जनतासम्म पु¥याउने जिम्मा कर्मचारीकै भएको बताए । ‘राज्यले निःशुल्क औषधिलगायत थुप्रै खालका घोषणा गरेको छ’, रावतले भने, ‘तर ती घोषणाहरू जनतासम्म पुग्न सकेका छैनन् । त्यसैले सर्वप्रथम यसअघिका घोषणालाई जनतासामु पु¥याउने कुरामा ध्यान दिनुपर्दछ ।’ कार्यक्रममा राज्यमन्त्री सामु कार्यालय प्रमुखहरूले विभिन्न माग राखेका छन् । कतै कर्मचारी नभएर त कतै कर्मचारी धेरै भएर समस्या भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रकाशित मितिः   १० मंसिर २०७६, मंगलवार ०९:०६