आधारभूत अधिकारबाटै वञ्चित

सुर्खेत : सुर्खेतका नागरिकहरू आधारभूत अधिकारबाटै वञ्चित भइरहेको पाइएको छ । यहाँका सबै नागरिकले पूर्णरूपमा मानव अधिकारको उपयोग गर्न समेत पाएका छैनन् । नागरिकहरूमाथिको विभेद समेत अन्त्य नभएको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् । अपाङ्गता भएका नागरिकहरूले समान रूपमा अधिकारको उपभोग गर्न पाएका छैनन् । कतिसम्म भने सरकारले प्रदान गर्ने सेवा समेत सहज रूपमा लिन नपाएको उनीहरू बताउँछन् । सोमवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज सेवा लिने अवस्था नभएको, कानुनी ज्ञान, अधिकार तथा नीतिहरू ग्रामीण क्षेत्रसम्म पुग्न नसकेको, महिलामाथि गरिने दुव्र्यवहार अझै उस्तै रहेको, जातीय विभेद, छाउपडी प्रथा कायमै रहेको, बालबालिका तथा युवाहरू कुलत तथा दुव्र्यसनमा फसेकोले अवस्था चिन्ताजनक रहेको बताएका हुन् ।

यसैगरी तरकारी, खाद्यान्नदेखि घरजग्गा र सुनसम्म अत्याधिक मूल्यवृद्धिले नागरिकको ढाड सेकिएको, अपाङ्गता भएकाहरूको रोजगारीको कोटा हटाइएको, सडक बालक तथा सहयोगको अपेक्षा गर्नेहरूको संख्या बढेको, भूमिहिन र राज्यविहीनको संख्या थपिएको, कम उमेरमै विहे गर्ने, गर्भवती हुने र कुमारी आमा हुनेको संख्या पनि बढेको, सरकारी कार्यालयमा समयमै सेवा नपाइएको, घरेलु तथा महिला हिंसा बढेको जस्ता मानवअधिकारको अवस्थाको बारेमा पनि छलफल गरिएको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पारस्परिक जवाफदेहिता परियोजनाः मानवअधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत आयोजित सरोकारवालाहरू बीच मानवअधिकारको अवस्थाबारेको छलफलका सहभागीहरूले यहाँका नागरिक आधारभूत अधिकारबाट समेत वञ्चित भएको बताएका हुन् । कार्यक्रममा नागरिक सरोकार संघका संयोजक पीताम्बर ढकाल, उच्च अदालत बार एशोसियसनका दुर्गाप्रसाद सापकोटा, जिल्ला वारका हिमालयजङ्ग शाही, समाज जागरण केन्द्रका टिकाराम आचार्य, महिला नेतृ लक्ष्मी शर्मा, समाजसेवी जीवनकुमार शाक्य, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, दलित गैसस महासंघका सचिव नारायण विकलगायतले मानवअधिकारको अवस्थाको बारेमा धारणा राखेका थिए ।

मानवअधिकार अधिकृत टीका अवस्थीले एक वर्षे परियोजनाले मानवअधिकार लगायतको क्षेत्रमा वीरेन्द्रनगरभित्र काम गरेको बताए । इन्सेक
कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानवअधिकारको क्षेत्र विस्तृत भएको हुँदा यसको संरक्षण र सम्वद्र्धनका राज्य र सरोकारवाला पक्ष सबै लाग्नुपर्ने सुझाव दिए ।

प्रकाशित मितिः   १० मंसिर २०७६, मंगलवार ०९:०४