उद्योगमा लगानी गर्न सुझाव

सुर्खेत : रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न र मुलुकलाई समृद्ध बनाउन उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको पाँचौ स्थापना दिवसको अवसरमा सोमवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले औद्योगिक विकासमार्फत रोजगारीका अवसर सिर्जना गरेर हरेक नागरिकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन् । यसका लागि औद्योगिक विकासमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘औद्योगिक विकासमा पछि परेको कर्णाली प्रदेशमा ठूला उद्योगहरू स्थापना गर्नु जरुरी छ’ उनले भने, ‘साना उद्योगले पनि रोजगारीका अवसर सिर्जना गर्न ठूलो सघाउ पु¥याएका छन् ।’ रावतले हरेक नागरिकलाई रोजगार बनाउनेतर्फ सरकारको नीति केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले स्थानीय उत्पादित वस्तु आफैले प्रयोग गर्ने र आवश्यकता भन्दा बढी उत्पादन गरेर निर्याततर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा उद्योगी हरिश्चन्द्र चलाउनेले उद्योगको विकास गर्नका लागि दृढ संकल्पका साथ अगाडि बढ्न जरुरी रहेको जिकिर गरे । स्थानीय उत्पादनलाई जोड दिन नसकेको खण्डमा उद्योगीहरू धरासायी हुने भएकोले त्यसका लागि सम्पूर्ण नागरिकले पनि स्थानीय उत्पादनको उपभोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले बजार क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि गुणस्तरीय सामानको उत्पादनमा जोड दिए । साथै उद्योगमैत्री कर नीति आवश्यक रहेको औल्याए । उनले भने, ‘नेपाल सरकारले एकद्वार प्रणालीबाट कर लिने वातावरण सिर्जना गर्न जरुरी छ ।’ उद्योग प्रवद्र्धनका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारले समेत औद्योगिक ग्रामको नीतिलाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । उद्योगीको भावनाको कदर गर्न नसक्ने हो भने कर्णाली प्रदेशले समृद्धि प्राप्त गर्न नसक्ने बिसीले बताए ।