हिंसाविरुद्ध बोलौं

पितृसत्तात्मक समाजले महिलाहरुलाई दोस्रो दर्जामा राख्दछ । उनीहरुको अधिकारलाई वेवास्ता गर्छ । विभेद र थिचोमिचो गर्छ । हिंसाको सिकार बनाउँछ । कुटपीटजस्ता घरेलु हिंसादेखि बोक्सीको आरोपमा दिसा खुवाउने, दाइजो नल्याएको निहुँमा जीउँदै जलाउने, बलात्कारपछि हत्या गर्नेसम्मका जघन्य अपराधबाट महिलाहरु पीडित हुनु यही पितृसत्तामक सोच र समाजका उपज घटनाहरु हुन् । जुन हाम्रो समाजमा बग्रेल्ती भइरहेका छन् ।

महिलामाथि हुने घरेलु हिंसाको अवस्था त अझ भयावह छ । तथ्यांकले यही भन्छ । कर्णाली प्रदेशमा मात्रै पछिल्ला तीन वर्षमा दुई हजार पाँच सय नौ जना महिलाहरु घरेलु हिंसाको सिकार भएका छन् । यद्यपी यो आफूमाथि भएको हिंसाविरुद्ध प्रहरीमा महिलाहरुले दिएको उजुरीको तथ्यांक हो । हिंसाका यस्ता कयौं घटना प्रहरीसम्म नै पुग्दैनन् । कतिपय महिलाहरुले आफूमाथि हिंसा भइरहे पनि त्यसलाई सहेर बसेका छन् भने कतिपय घटना मिलापत्रमा टुंगिने गरेका छन् । घरभित्रै र आफन्तबाटै हुने यस्ता हिंसाका धेरैजस्ता घटना त बाहिर नै नआउने गरेको महिला अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु बताउँछन् । किनभने अहिले पनि सबै महिलाहरु आफैमाथि हुने विभेद र हिंसाका विरुद्ध बोल्न आँट गर्दैनन् ।

कर्णाली प्रदेशमा महिलाहरुमाथिको विभेद अझ जर्जर छ । सामाजिक विकृतिहरु पनि उत्तिकै छन् जसले महिलालाई नै हिंसाको सिकार बनाइरहेको छ । बालविवाहदेखि छाउपडीप्रथाले यहाँका महिलाहरु प्रताडित छन् । त्यसमाथि शिक्षामा छोरीहरुको पहुँच नै कम छ । जसले गर्दा पनि महिलाहरु हिंसाको सिकार अझ बढी हुनुपरेको हो । शिक्षामा पहुँच नहुन, आर्थिक रुपमा आत्मनिर्भर नहुनुजस्ता कारणले महिलाहरु पछि पारिएका छन् । दविएका छन् । यसले उनीहरुमाथिको हिंसालाई बढावा दिइरहेको छ ।

त्यसो त छोरीमाथिको विभेद ऊ गर्भमा हुँदादेखि नै सुरु हुने गरेको छ । जन्मिसकेपछि हुर्किदा र त्यसपछिको जीवनकालमा उसले विभेद र हिंसाका अनेकौं बज्र सहनुपर्ने विडम्वनापूर्ण अवस्था वर्तमान समाजमा कायमै छ । मानवअधिकार र समानताको यति बिघ्न वकालत भइरहेको वर्तमान समयमा पनि महिलाहरुले मानवअधिकारकै समान रुपमा उपभोग गर्न पाइरहेको अवस्था छैन बरु घरेलु हिंसाको सिकार भइरहनुपर्ने परिस्थिति दुखद् मात्रै होइन आजको समय र चेतनाविपरित छ ।

आजको समयले त्यस्तो समाजको परिकल्पना गर्दछ जहाँ महिला र पुरुषबीच विभेद गर्दैन । महिला भएकै कारण हिंसाको सिकार हुनुपर्दन । तर हामीले बाँचिरहेको समय र समाज त्यसको ठिक विपरित छ । त्यसैले महिलाहरुलाई यस्ता हिंसाबाट मुक्त गर्न र आजको समय सुहाउँदो समतामुलक समाज निर्माण गर्न न्यायिक निरूपणमार्फत हिंसाको अन्त्य गर्नु अपरिहार्य छ । महिलामाथि हुने हिंसाविरुद्ध सबैले बोलौं ।