सहकारी रजिस्ट्रार कार्यालय स्थापना

सुर्खेत :  कर्णाली प्रदेशमा सहकारी रजिस्ट्रारको कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका सहकारीहरूको नियमन तथा अनुगमन गर्न प्रदेशमा पहिलो पटक रजिस्ट्रारको कार्यालय स्थापना गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतवार औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेकी हुन् । मन्त्री केसीले कर्णालीमा स्थापना भएको कार्यालयले सहकारीमा भएका विकृितलाई अन्त्य गर्न नियमावली आवश्यक भएको बताइन् । सहकारी ऐन बनेर रजिस्ट्रारको कार्यालय स्थापना भएको बताउँदै मन्त्री केसीले निर्देशिका बनाएर कर्णालीका सहकारीलाई नियमन र अनुगमन गर्नुपर्नेमा जोड दिइन् । मन्त्रालयको जिम्मेवारी लिएपछिको पहिलो प्रयास सहकारी विधेयक भएकोले सबैको साझा प्रयास र सहयोगले ऐनका रूपमा पारित भएको उनले बताइन् ।

प्रदेशमा सहकारी रजिस्ट्रारको कार्यालय स्थापना भएपछि सहकारीहरूलाई नियमन गर्न प्रदेश आत्मनिर्भर भएको उनले बताइन् । ‘मन्त्रालयले नियमावलीको तयारी गरेको छ, अब छिट्टै पास गर्ने तयारीमा छौँ, पास भएपछि दर्ता प्रक्रिया, कार्यक्षेत्र विस्तार गर्न सहज हुन्छ’ मन्त्री केसीले भनिन् । कार्यालय स्थापना भएपछि अब एक स्थानीय तह भन्दा बाहिर कार्यक्षेत्र विस्तार वा नयाँ दर्ता गर्न सहज हुने उनले बताइन् ।

रजिस्ट्रार कार्यालयका साथै भूमि सम्बन्धीको काम पनि गर्नुपर्ने भएकोले भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार कार्यालय नाम राखिएको उनले जानकारी दिइन् । मन्त्री केसीका अनुसार कर्णालीको सहकारी सम्बन्धी समस्या समाधान गर्न छिट्टै समिति गठन गरिने जानकारी पनि मन्त्री केसीले दिइन् । ‘समिति गठनका लागि गठनादेश पास भएको छ, अब छिट्टै कामलाई प्राथमिकता दिन भूमि सम्बन्धी समस्या समधान गर्न समिति गठन गरिने छ’ उनले भनिन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७६, सोमबार ०९:१३