राउट युवाको उपचारमा आर्थिक अभाव

सुर्खेत : मुटुमा समस्या देखिएका राउटे युवाको उपचारमा आर्थिक अभाव भएको छ । २२ वर्षीय युवा कपिल शाहीलाई मुटुमा समस्या भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको छ । तर उनको उपचारमा रकम अभाव भएको हो ।

डाक्टरको सल्लाह अनुसार करिब ६ महिना उपचार गर्नुपर्ने भए पनि आर्थिक अभावको कारण उपचार गर्न समस्या भएको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । उनले आफूसँग पनि राउटेको लागि उपचार गर्ने पैसा नभएकोले सहयोगको लागि सबैलाई अपिल गरेकी छन् । ‘राउटे समुदायका कपिलले आफै उपचार गर्न सक्ने अवस्था छैन’ अधिकारीले भनिन्् ‘तर उसको उपचारको लागि कतैबाट पनि सहयोग आएको छैन ।’ उपचार गर्ने पैसा भए बाँच्ने रहर भएको कपिलले बताउँदै आएको खड्काले जानकारी दिइन् । उनका अनुसार केही स्थानीय तहले राउटेको उपचारका लागि कर्मचारी राखेपनि अस्पतालमा कुनै कर्मचारी कपिलको अवस्था बुझ्न नआएको उनले गुनासो गरिन् । कपिलको उपचारको लागि कुनै संघ–संस्थाले समेत चासो नदेखाएको उनले बताइन् । कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले लोपोन्मुख जातीको उपचारको लागि केही बजेट विनियोजन गर्नुपर्ने अधिकारीको भनाइ छ । उता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले मन्त्रालयकै पहलमा उपचार भइरहेको बताएका छन् । उनले थप उपचारको लागि बाहिर लानुपर्ने अवस्था भए पनि मन्त्रालय तयार रहेको बताए ।

प्रकाशित मितिः   ९ मंसिर २०७६, सोमबार ०९:१०