अपाङ्कता दिवस मनाउन समिति

सुर्खेत : कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउनका लागि समिति गठन गरिएको छ । दिवसलाई भव्य रूपमा सफल पार्नका लागि समिति गठन गरिएको हो । मंसिर १७ गते पर्ने दिवस मनाउनका लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्काले बताए । समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर वि.के., मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव बालाराम शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका उप–सचिव सुधिकुमार अर्याल, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्का र सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका शाखाकी प्रमुख विश्वमणि जोशी रहेका छन् ।

दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४१ अनुसार प्रदेशस्तरमा समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको खड्काले बताए । कार्यक्रम भव्य रूपमा सफल पार्नको लागि सामाजिक विकास मन्त्रालय लगायत अन्य संघ–संस्थाहरूसँग समेत सहकार्य गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मितिः   ९ मंसिर २०७६, सोमबार ०९:०७