दिपकको संघर्षपूर्ण बाल्यकाल

                                         दिपक वि.क.

वीरेन्द्रनगर–५, सुर्खेत निवासी दिपक वि.क. कराँते खेलका प्रशिक्षक तथा खेलाडी हुन् । वि.सं. २०४८ चैत १७ गते बुवा भक्ते कामी र आमा झुपु कामीको सन्तानका रूपमा दैलेखको भैरवी गाउँपालिकामा उनी जन्मिए । कराँतेको अन्तर्राष्ट्रिय च्याम्पियनमा समेत उनले सहभागी जनाएका छन् । साथै उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ का खेलकुद शिक्षक समेत हुन् । खेलाडी, प्रशिक्षक र खेल शिक्षक लगायतका भूमिकामा रहेर खेलकुदमै आफूलाई समर्पित गरेका वि.क.ले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

मेरो जन्मदैलेखमा भयो । दैलेखमा जन्मिए पनि बाल्यकाल भने सुर्खेतमै बित्यो । हाम्रो समान्य परिवार थियो, आमाले सानो व्यवसाय गर्नुहुन्थ्यो । बुवा इन्डिया जानुहुन्थ्यो । हामी दुई भाइमध्ये म घरको जेठो सन्तान । मेरो औपचारिक शिक्षा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ बाट सुरु गरें । बाल्यकालमा कहिले दुःख भयो, कहिले रमाइलो पनि भयो ।

साथीहरूको लहलहैमा लागेर पैसा कमाउने भनेर भारतको पञ्जावमा गएँ । त्यसबेला त्यस्तै बाह्र÷तेह्र वर्षको उमेर थियो होला । कक्षा ६ मा पढ्दै थिएँ । बाल्यकालका सपना नै ठूला हुने रहेछन् । घरमा आर्थिक अवस्था कमजोर थियो । पैसा कमाउने भनेर हामी तीन जना साथी घरमा थाहा नै नदिएर भाग्यौं । तीन महिना समयसम्म भारतमा समय बिताएँ । धेरै दुःख भयो । भोकै सडक सुत्नु प¥यो । एक ठाउँमा चिसो बेच्ने काम मिल्यो । त्यहाँ एउटा पञ्जावी मन्दिर थियो । भक्तजनहरूको भिड हुन्थ्यो । मन्दिरको गेट नजिक बसेर हामीले चिसो बेच्ने काम गथ्र्यौं । चिसो बेचिदिए वापत साहुले हामीलाई केही पैसा दिन्थे । कहिले पैसा नदिने पनि हुन्थ्यो । खान बस्न समस्या भयो । साहुसँग झगडा भयो ।

इण्डियामा धेरै दुःख हुन थालेपछि घर फर्किने निर्णय लिएँ । त्यो निर्णय लिने समय मेरो जीवनको महत्वपूर्ण विन्दु बन्यो । पछि हामी प्रहरीको सहयोगमा फर्कियौं । देशमा द्वन्द्व चर्किएको थियो । दिल्ली हुँदै नेपालगन्ज आउने बसमा प्रहरीले राखिदियो । म नेपालगन्जसम्म आएँ । देशका विभिन्न भागमा बम विष्फोट, भिडन्तका घटना धेरै भएका थिए । सुर्खेत आउन सम्भव नभएपछि झण्डै दुई हप्ता म नेपालगन्जमै बसेँ । एउटा होटलमा काम गरेँ । त्यसपछि सुर्खेत फर्किएँ । फेरि पढ्न सुरु गरें ।

कक्षा ७ मा पढ्दा गर्दा प्रहरी हुने इच्छा थियो । त्यसैले साथीको सल्लाहमा खेलकुदमा आवद्ध भएँ । कवर्ड हलमा गएर कराँते खेल्थेँ । विस्तारै विद्यालयमा खेलकुद प्रतियोगितामा सहभागी हुने गरें । पछि बुवाको निधन भयो । आमा पनि बिरामी पर्नुभयो । त्यसपछि आर्थिक व्यवस्थापन गर्न समस्या भयो । मैले विद्यालयहरूमा खेल सिकाउन थालें । त्यसबाट आर्थिक व्यवस्थापन गर्न सहज भयो । आमाले नसक्ने भएपछि आर्थिक समस्याले झेल्दै गएपछि घरको जिम्मेवारी पनि थपियो । मैले आफ्नो लागि पढाइ खर्च आफै व्यवस्थापन गर्थें । कक्षा नौंमा पढ्ने समयदेखि मैले विद्यालयहरूमा खेलहरू सिकाउन थालेँ । यसले पनि मलाई मेरो पढाइ अघि बढाउन र घरको आर्थिक जोहो गर्न केही सहज भयो । छिमेकीको घरमा सघाइदिन्थेँ । साथी भाइहरूसँग खेलेर दिनमा एक घण्टा जति घाँस काट्दिने र बाख्रा चराइदिने काम गरेँ । उहाँले महिनाको दुई हजारदेखि २५ समयसम्म दिनुहुन्थ्यो । दिउँसो विद्यालय जानुपर्ने  । पढाइ बाहेक काम गर्नुपथ्र्यो ।

विद्यालय जीवन धेरै रमाइलो भयो । पढाइ मध्यम खालको थियो । अंग्रेजी विषय धेरै गाह्रो हुन्थ्यो । टिफिन टाइमपछि अंग्रेजी विषय पढाइ हुने । हामी साथीहरू गाह्रो हुन्छ भनेर त्यो समयमा चौरमै बस्थ्यौँ । कहिलेकाहीँ भागेर लादे, सिद्धपाइला गुराँस टिप्न जान्थ्यौं । वीरेन्द्रनगरबाट हिँडेर जाँदा रमाइलो हुन्थ्यो । तातापानीतिर खासै धेरै घरहरू बनिसकेका थिएनन् । खेतमा मसुरो, चना चोरेर खान जान्थ्यौं । घर नजिक छिमेकीका घरमा अमिला, बेलौती चोर्न जान्थ्यौं । एक पटक आफूहरूलाई नै पढाउने शिक्षकको घरमा बैलौती चोर्न गएको सम्झना छ ।

अहिले जस्तो घर–घरमा टिभी र हातहातमा मोबाइल फोन हुन्थेन । केही सीमित व्यक्तिहरूको घरमा मात्र टिभी हुन्थे । त्यस बेलामा हामीले टिभी हेर्नका लागि ढुङ्गा बोकिदिनु पथ्र्यो । टिभी हेर्नका लागि टिभी मालिकको ढुङ्गा बोकिदिएर हेर्न पाउँथ्यौं । कहिलेकाहीँ फिल्म हेर्न भागेर जान्थ्यौं । घरबाट भागेर जाँदा गाली पनि गर्नुहुन्थ्यो । स्कुल पढ्न गयौं भनेर भागेर फिल्म हेर्न जाने, खेल्न जाने पनि गरियो । रातीसम्म पनि खेलेर थाकिदैनथ्यो । बाल्यकालदेखि मेरो स्वभाव मिलनसार नै थियो । लडाईं–झगडा गर्न मन पर्दैनथ्यो । कसैलाई केही नभन्ने । आमालाई पसलमा सघाउनुपथ्र्यो । बुवा इन्डिया गइरहने भएकाले बुवासँग धेरै समय बस्न पाएनौँ । पछि म कक्षा नौंमा पढ्दै गर्दा बुवाको निधन भयो ।

भविष्य कस्तो हुने भनेर बाल्यकालमा हामीले कोसँग र कस्तो साथीसँग साथ गरेका छौँ भन्नेमा भर पर्छ । हाम्रो संगतले नै भविष्य निर्माण गर्छ । यदि म इन्डियाबाट फर्किएर नआइदिएको भए सायद आज मैले नाम, सम्मान पाउँदैन्थे होला । इन्डिया नै हुन्थेकी भन्ने लाग्छ । अहिले खेल क्षेत्रमा लागेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएँ । गत साउनमा बंगलादेशमा भएको खेलमा सहभागी भएँ । खेलकुदले मानिसलाई अनुशासित गराउँछ । म खेलकुदमा लागेर अनुशासित मात्र होइन जीवनलाई सहज र सुन्दर गराउन सिकिरहेको छु । खेलकुदमा हामीले सोचेको जस्तो विकास त भएको छैन । तर पनि खेल क्षेत्रको सम्भावना छ । राज्यले खेलकुदमा जति लगानी गरेको छ । त्यो सिधै खेलकुदमा लगानी नहुँदा खेल क्षेत्र पछि परेको जस्तो लाग्छ । बाल्यकालमा प्रहरी बन्ने चाहनामा खेल क्षेत्रमा आए पनि यो अहिले मेरो लक्ष्य बनेको छ । आगामी दिनमा पनि खेल क्षेत्रमै समय बिताउने हो । खेल क्षेत्रमा केही गर्नुपर्छ भन्ने अठोट लिएको छु ।

प्रकाशित मितिः   ९ मंसिर २०७६, सोमबार ०९:०६