वार्षिक ४६ करोडको बाख्रा बिक्री
सल्यान : सल्यानमा व्यावसायिक बाख्रापालन व्यवसायबाट युवाहरूले मनग्य आम्दानी गर्न थालेका छन् । सरकारी निकायबाट समेत सहयोग हुन थालेपछि फर्म नै दर्ता गरेर युवाहरू बाख्रापालनतर्फ अग्रसर भएका छन् । बाख्रापालनमा व्यावसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ । अन्य व्यवसायभन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि युवाहरू बाख्रापालन व्यवसायतिर आकर्षित भएका हुन् ।
सल्यान बाख्रापालनका लागि उपयुक्त मानिन्छ । यस जिल्लामा साढे पाँच लाख वटा भन्दा बढी बाख्रापालन भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख रूपसिंह राईले जानकारी दिए । उनले भने, ‘यहाँ बाख्रापालनका लागि ६० वटा व्यावसायिक फार्म दर्ता भएर सञ्चालनमा छन् ।’ सल्यानमा उत्पादन भएका १३ हजार सात सय ५४ मेट्रिक टन मासुमध्ये खसीबोकाको नौ हजार तीन सय १२ मेट्रिकटन रहेको निमित्त प्रमुख राईले बताए । गत आर्थिक वर्ष सल्यानबाट ४६ हजार खसीबोका जिल्लाबाहिर निर्यात भएको छ । प्रतिगोटा न्यूनतम १० हजार रूपैयाँमा बिक्री हुँदा पनि वार्षिक ४६ करोड रूपैयाँको बिक्री भएको पशु सेवा कार्यालयको अनुमान छ ।
यहाँका खसीबोका पोखरा, काठमाडौंलगायतका प्रमुख सहरहरूमा बिक्री हुने गरेको छ । व्यावसायिक बाख्रापालनका लागि कृषकहरूलाई आकर्षित गर्न पशु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रकाशित मितिः ९ मंसिर २०७६, सोमबार ०८:५९
साझा बिसौनी ।