हर्रेमा विषादी परीक्षण प्रयोगशाला

सुर्खेत : सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला बनाइने भएको छ । अन्य जिल्लाहरूबाट कर्णालीमा भित्रिने तरकारीहरूको विषादी परीक्षणका लागि प्रयोगशाला निर्माण गर्न लागिएको हो ।

अर्गानिक प्रदेश बनाउने नीति लिएको कर्णाली प्रदेश सरकारले त्यसका लागि हर्रे र सल्यानमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्न लागेको हो । सल्यानमा प्रयोगशाला निर्माणका लागि सहज भए पनि हर्रेमा भने जग्गाको व्यवस्थापन हुन सकेको छैन । जग्गाको व्यवस्थापन छिटो भन्दा छिटो गरेर अन्य प्रदेश र भारतबाट नेपालगन्ज हुँदै भित्रिने तरकारीको परीक्षण सुरु गर्ने तयारी भइरहेको छ । प्रयोगशाला स्थापना गर्न जग्गाको खोजी गर्नका लागि प्रदेश कृषि निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय लगायतको टोली हर्रे पुगेको थियो । उक्त टोलीले सरोकारवालासँग छलफल गर्दै जग्गा व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

स्थानीय समाजसेवी एवम् शिक्षक महेन्द्र डाँगीका अनुसार, जग्गा व्यवस्थापनका लागि स्थानीयस्तरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जग्गाको व्यवस्थापन हुने वित्तिकै पूर्वाधार निर्माणको काम गर्ने तयारी भइरहेको छ । प्रदेश राजधानी सुर्खेत लगायत गाउँ–गाउँसम्म आयात हुने तरकारीको झण्डै तीन चौथाइ हिस्सा भारतीय तरकारीले ओगटेको छ ।

हर्रे कर्णालीमा भारतीय तरकारी आयात हुने प्रमुख नाका हो । रूपैडिया, नेपालगन्ज हुँदै तरकारी आइपुग्छ । हर्रेमा विषादी परीक्षण जरुरी रहे पनि जग्गा उपलब्ध नहुँदा चालु आवमा पूर्वाधार निर्माण हुन नसकेको हो । भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने र प्रदेशमा अर्गानिक तरकारी उत्पादनमा जोड दिने नीति सरकारले लिएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०७६, शनिबार १०:१८