गाउँमा पुग्दैन सहुलियत दरको चामल

मुगु : नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ । हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट पठाइएको खाद्यान्न सम्बन्धित स्थानमा नपुगेको पाइएको छ ।

खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपु¥याएको स्थानीयहरूको आरोप छ । खाद्यान्न नआएपछि स्थानीयहरू खाद्यान्न जोहो गर्न मुगुको सोरु गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन् । स्थानीयले हप्तौं लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर भेडा–च्याँग्रालाई खाद्यान्न बोकाएर ल्याउँदै आएका छन् ।

नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा मुस्किलले एकपटक ३० किलोको एक प्याक चामल मात्र पाउने गरेको त्यस क्षेत्रका नागरिकको गुनासो छ । सर्केगाड गाउँपालिका–३ उनपानीका दिलबहादुर फडेरा दशैं–तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि सात दिन लगाएर मुगुको सोरु गाउँपालिका–८ को तारापानी बजारबाट ल्याएको बताउँछन् । सर्केगाड वितरण केन्द्रमा १५ सय रूपैयाँ पाउने चामल उनले १ हजार ६८० रूपैयाँमा खरिद गरेको बताए । बाटो खर्च सबै जोड्दा उक्त चामलको मूल्य करिब तीन हजार ५०० रूपैयाँ पुगेको दिलबहादुरले भनाइ छ ।

गाउँमा पुग्दैन सहुलियत दरको खाद्यान्न खाद्य संस्थान मुगुले सर्केगाडका लागि एक हजार क्वीन्टल खाद्यान्न पठाउने मुगुका प्रमख कर्णबहादुर रावतले बताए । जनताले पाएको भन्ने विवरण आएपछि ढुवानी रकम ठेकेदारले बुझेर लिँदै आएका छन् । तर, गाउँमा खाद्यान्न नपुगेको स्थानीयको गुनासो छ । ‘सरकारले चामल पठाउछ भन्छन,’ दिलबहादुरले भने, ‘तर खाद्य संस्थानको सर्केगाड डिपोमा पुग्दा जहिले पनि रित्तो हात फर्किनु परेको छ ।’ चालु आर्थिक वर्षमा हुम्लाको सर्केगाडका लागि सुर्खेतबाट नै एक हजार क्वीन्टल चामल ढुवानी गर्ने भनिए पनि ठेकेदार नआउँदा ढुवानी नभएको खाद्य संस्थान मुगुका प्रमुख रावतले बताए । यता ठेकेदार ओम जय दुर्गी जनरल अडर सप्लायर्सका दुर्गबहादुर बुढाले गमगढीदेखि सर्केगाडसम्म एक हजार क्वीन्टल खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको र केही दिनमा ढुवानी सुरु हुने बताउँछन् । समयमै चामल ढुवानी नहुँदा मुगु जिल्लामा डिपो पनि खाली छन् । मुगुका सोरु कोट, पुलु, रातापानी, श्रीकोट डिपो चामल नहुँदा खाली छन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७६, शनिबार १०:१७