पूरा कोर्ष पढ्न नपाउँदै वार्षिक परीक्षा

जुम्ला : जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पूरा पाठ्यक्रम (कोर्ष) पढाइ नभएरै वार्षिक परीक्षा दिने गरेको पाइएको छ । जिल्लाका ग्रामीण भेगमा समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो ।

जुम्लाका सामुदायिक विद्यालयहरूले यही मंसिर महिनाको पहिलो सातादेखि अन्तिमसम्म वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन् । कनकासुन्दरी मावि लुडकुमा अध्ययनरत विद्यार्थीले आधा कोर्ष पढेर परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन् । विज्ञान र लेखा विषयबाहेक अन्य विषयको पढाइ पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी हुनुपरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुजनकुमार उपाध्यायले बताए । उनले भने, ‘पूरा नपढी परीक्षामा सहभागी हुनु पर्दा आधा प्रश्न छोड्नु पर्ने हुन्छ ।’ यसरी दिएको परीक्षाको परीक्षाफल राम्रो नहुने चिन्ताले पिरोल्ने गरेको उनको भनाइ छ ।

कनकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितले पूरा कोर्ष पढाउन नसकिएको बताए । उनले भने, ‘विभिन्न कामले शिक्षकहरूले बिदामा बसेका कारण विद्यार्थी आधा पढ्दै परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएको हो ।’ दशैँ, तिहार जस्ता चाडपर्वका कारण पूरा कोर्ष पढाइ नभएको विद्यार्थीको भनाइ छ । शिक्षक–अभिभावक जिम्मेवारी हुनुपर्ने अभिभावकहरूले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो भइरहेको छ, भनेर विद्यालयमा आएर हेरविचार नगर्ने गरेका कारण पनि समयमै कोर्ष पूरा नभएको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले बताए ।

प्रकाशित मितिः   ७ मंसिर २०७६, शनिबार १०:१५