पहिलो पटक सांसद, पहिलो पटकमै मन्त्री

सुर्खेत : लगातार दुई पटक निर्वाचनमा पराजित भएपछि नवराज रावतको राजनीतिक भविष्यलाई लिएर दुई वर्षअघिसम्म अनेक टिकाटिप्पणी हुने गथ्र्यो । उनकै पार्टीभित्रका कतिपयले त भन्ने गर्थे, ‘रावतको राजनीति अब सकियो ।’ तर आफ्नै पार्टीभित्रैकाले समेत राजनीति सकियो भनेका रावत यतिबेला संघीय सरकारको मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार पुनर्गठन गरेको मन्त्रिपरिषद्मा सुर्खेतका रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका हुन् ।

रावतको राजनीतिक इतिहास झण्डै चार दशक लामो छ । विद्यार्थीकालदेखि नै राजनीतिमा पाइला राखेका उनले सफलता र असफलताका अनेक खुड्किला टेके । लामै समय तत्कालीन नेकपा एमालेको जिल्लाको नेतृत्व समेत गरे । तर संसदीय राजनीतिमा लगातार असफल हुँदै आएका उनी तेस्रो पटकको प्रयासपछि २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनबाट पहिलो पटक सफलता हात पारे र पहिलो पटक सांसद बने । उनी पहिलो पटक सांसद मात्रै बनेन् पहिलो पटकमै मन्त्री समेत बनेका छन् ।

वि.सं. २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा उनी सुर्खेत निर्वाचन क्षेत्र नं. ३ बाट पराजित भएका थिए । संविधान जारी भइसकेपछि भएको प्रतिनिधिसभाको पहिलो निर्वाचनमा सुर्खेतको क्षेत्र नं. २ बाट विजयी भएका हुन् । राज्यमन्त्री रावतले आफू जुनसुकै पद र भूमिकामा भए पनि सुर्खेत र समग्र कर्णाली प्रदेशको हितमा काम गर्ने बताएका छन् । उनले कर्णालीका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन आफूले पहल गर्ने बताए । ‘कर्णालीका हरेक नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नका लागि मेरो पहल हुनेछ’ उनले भने, ‘यसका साथै प्रदेश समग्र विकासका लागि संघीय सरकारसँग निरन्तर पहल गर्नेछु ।’

यसैबीच नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पदभार सम्हाल्दै सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा दुईजना सर्जन (शल्यचिकित्सक) पठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । यसअघि सुरुमा स्वास्थ्य सचिव खगराज बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन उठाएर पहिलो निर्णयको लागि हस्ताक्षरको लागि लगेका फाइलमा उनले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिएका थिए । त्यसलगत्तै मन्त्री ढकालले अघिल्लो निर्णय आफूले बुझिने खाले नभएको भन्दै हस्ताक्षर नगरी दोस्रो फाइल ल्याउन निर्देशन दिएका थिए । सोही बमोजिम स्वास्थ्य सचिव खगराज बरालले फाइल तयार पारेपछि सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्य मन्त्रालय ११औं तहका जनरल सर्जनद्वय डा. हरि सापकोटा र डा. गणेश थापालाई पठाउने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मितिः   ६ मंसिर २०७६, शुक्रबार ०८:०६