सीमा विवाद समाधान गर्न समिति

काठमाडौं : सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीवार मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यसैगरी, सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सुरुङ्गमार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्वीकृति पनि दिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए । त्यसैगरी, मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपतकालीन पूर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।

प्रकाशित मितिः   ६ मंसिर २०७६, शुक्रबार ०८:०१