ब्याजदर घटउन पहल
सुर्खेत : एनआईसी एसिया बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर घटाउन पहल गरिने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघ र बैंकका सहायक प्रमुख कार्यकारी अधिकारी जयन्द्र रावलबीच बिहीवार भएको छलफलपछि ब्याजदर घटाउन पहल गर्ने निर्णय भएको छ । एनआईसी एसिया बैंकले प्रवाह गर्ने कर्जा नवीकरण गर्दा लिइने सेवा शुल्क वापतको २ दशमलव ७५ प्रतिशत र ब्याजको दर ९ दशमलव ५० प्रतिशतभन्दा कम कायम गर्न बैंकले पहल गर्ने प्रतिबद्धता कार्यकारी अधिकारी जयन्द्र रावलले जनाएका छन् । यस्तै सेवाग्राहीले बैंक कर्जा चुक्ता गरेको खण्डमा बाँकी अवधिको सेवा शुल्क बैंकले फिर्ता गर्ने निर्णय पनि छलफलका क्रममा भएको छ ।
त्यसैगरी सेवाग्राहीले किस्ताबन्दीमा सेवा शुल्क तिर्न मिल्ने गरी आवश्यक व्यवस्था मिलाउने, सेवाग्राहीले हाल कायम रहेको ९ दशमलव ५० प्रतिशत सेवा शुल्क तिरेको खण्डमा ६ महिनादेखि १ वर्षसम्म ब्याज वृद्धि नगर्ने, यसअघि बैंकले विभिन्न शीर्षकमा अनधिकृत रूपमा काटेको व्याज तत्काल फिर्ता गर्ने, एल.सी. भुक्तानी गर्दा बैंकले काटेको अन्य शुल्क फिर्ता गर्ने, बैंकबाट कर्जा लिएका सम्पूर्ण व्यवसायीहरूको कर्जा नवीकरण गरी कर्जा सहज बनाउने सहमति जुटेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।
छलफलका क्रममा ऋण प्रवाह गर्दा जीवन बीमा लगायतका अन्य शुल्क लाग्ने नीति तत्काल हटाउने, सेवाग्राहीले बैंकको सम्पूर्ण सावाँ ब्याज चुक्ता गरी बैंक स्थानान्तरण गर्न चाहेको खण्डमा अतिरिक्त शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने, कर्जा प्रवाहमा हाल लिंइँदै आएको २ दशमलव ७५ प्रतिशत सेवा शुल्कबाट घटाइ सक्दो कम गर्नका लागि बैंकले आप्mनो नीति परिवर्तनका लागि आवश्यक पहल गर्ने, कर्जा प्रवाह एवम् नवीकरण प्रक्रियालाई सक्दो सहज बनाउने, बैंक ग्यारेण्टीमा कारोवार गर्दा सेवा शुल्क पूरानै दर शून्य दशमलव पाँच प्रतिशत कायम गर्ने तथा मार्जिन राख्दा बढीमा पाँच प्रतिशत मात्र राख्न बैंकले पहल गर्ने निर्णय भएको कँडेलले जनाए । संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको छलफलमा संघका अन्य पदाधिकारी तथा व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः ६ मंसिर २०७६, शुक्रबार ०८:००
साझा बिसौनी ।