सुरुङ्गमार्गमा चिनियाँ चासो

सम्भाव्यता अध्ययनका लागि पहल थालियो

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरदेखि तेलपानी हुँदै भुरीगाउँ जोड्ने सडक खण्डमा सुरुङ्गमार्ग निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । चिनियाँ कम्पनी चिँगदावो म्यूनिसिपल कन्स्ट्रक्सन ग्रुप कम्पनीले सुरुङ्गमार्ग निर्माणमा चासो देखाएको हो । चिनियाँ कम्पनीले चासो देखाएपछि कर्णाली प्रदेश सरकारले पनि यसलाई अघि बढाउन आवश्यक पहल सुरु गरेको छ । प्रदेश सरकारले उक्त सुरुङ्गमार्गको सम्भाव्यता अध्ययनका लागि आवश्यक प्रक्रिया अघि बढाइदिन नेपाल सरकारसँग अनुरोध गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइदिनका लागि सरकारमार्फत अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उनले कम्पनीसँगको छलफलका क्रममा सुरुङ्गमार्गको सम्भाव्यता अध्ययनका लागि उसले चासो देखाएपछि कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको बताइन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणका क्रममा उक्त कम्पनीका प्रतिनिधिहरूसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा चिँगदावो म्यूनिसिपल कन्स्ट्रक्सन ग्रुप कम्पनीका प्रतिनिधिहरूले सम्भाव्यता अध्ययन गर्न सहमति जनाएका थिए । कम्पनीले नै सहमति जनाएपछि मन्त्रीपरिषद्को बैठकले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको मन्त्री केसीले बताइन् । प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै सुर्खेतदेखि बर्दिया जोड्ने सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना समावेश गरेको थियो । मन्त्री केसीका अनुसार वीरेन्द्रनगर–तेलपानी–भुरीगाउँ सडक खण्डमा पर्ने सुरुङ्गमार्ग फास्ट ट्रयाकको उद्देश्य पूरा गर्ने माध्यम हो । ‘यो सडकले धेरै समय र बजेटको बचत गर्छ’ उनले भनिन्, ‘छोटो दूरीको यो सडक जस्तै अन्य सडकको पनि परिकल्पना कर्णाली प्रदेश सरकारले गरेको छ ।’

यसैगरी बैठकले अन्य विभिन्न निर्णय समेत गरेको छ । ‘बंैक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम सञ्चालन कार्यविधि, श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०७५ को तेस्रो संशोधन स्वीकृत गरेको छ । त्यस्तै कर्णाली प्रदेश विशेष अनुदान कार्यविधि २०७५ को दोस्रो संशोधन, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका र कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली समेत बैठकले स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

प्रदेश सरकारले विभिन्न अवसरमा बिदा दिने निर्णय समेत गरेको छ । मन्त्री केसीका अनुसार कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर भदौ ४ गते, माघे संक्रान्तिको अवसरमा माघ १ गते, देउडा पर्व तथा साउने संक्रान्तिको अवसरमा साउन १ गते तथा भोट ल्होसार र वकर इदको अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसबाहेक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत नयाँ संरचना अनुसार जनशक्ति व्यवस्थापन गर्ने, भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सञ्चालक समितिमा प्रदेश सरकारको प्रतिनिधिको रूपमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशका सचिवलाई तोक्ने र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिएको भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधको दायाँ किनाराबाट थप जलविद्युत उत्पादन गर्ने कार्यको सम्भाव्यता अध्ययन, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाट नै तयार गरी कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै कार्तिक २९ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय समेत बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । उक्त बैठकले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा आवश्यक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सहमति दिने, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् क्रसिङ्ग र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५, को प्रथम संशोधन स्वीकृत गर्ने निर्णय बैठकले गरेको हो । त्यस्तै कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ समेत बैठकबाट स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन् ।

प्रकाशित मितिः   ६ मंसिर २०७६, शुक्रबार ०८:०९