छाेरी–बुहारी पढाउँदै प्रदेश सरकार

सुर्खेत : प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन कर्णाली प्रदेश सरकारले छात्रवृत्तिमा यहाँका छोरी–बुहारीहरू पढाउन थालेको छ । सरकारको छोरी–बुहारी छात्रवृत्ति अन्तर्गत अहिले कर्णालीका एक सय ५० जना महिला प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।

प्रदेश सरकारले स्वास्थ्य, कृषि, इन्जिनियर लगायतका प्राविधिक विषयमा प्रदेशका छोरी–बुहारीलाई छात्रवृत्ति दिने गरेको छ । आफ्नो नीति तथा कार्यक्रममा नै छोरी–बुहारीको शिक्षामा जोड दिँदै प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएको हो । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालय अनुसार उक्त छात्रवृत्ति अन्तर्गत १७ जनाले कृषि विज्ञान, ११ जनाले बाली विज्ञान पढिरहेका छन् । यस्तै पशु विज्ञान ७ जना, नर्सिङ्ग ३३ जना, फार्मेसी ३ जना, मेडिसिन ३ जना, ल्याब टेक्निसियन ५ जना, सिभिल इन्जिनियर १२ जना, रेडियोग्राफी ३ जना र एचए १५ जनाले पढिरहेका छन् ।छात्रवृत्ति कार्यक्रमका लागि प्रदेश सरकारले एक करोड ३१ लाख, ६२ हजार आठ सय पाँच रूपैयाँ खर्च गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा यो कार्यक्रम ल्याइएको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा छोरी–बुहारीको शिक्षामा जोड दिँदै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याउने उल्लेख गरेको थियो ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक भक्त ढकालले व्यावसायिक शिक्षा हासिलमा सहयोगका साथै प्रेरणा मिलोस् भन्ने उद्देश्यले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको बताए । व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राहरूको संख्या वृद्धि गर्न र छोरी–बुहारीले पढ्ने अवसर पाउन भनेर नै सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम ल्याएको उनको भनाइ छ । ‘हामीले विश्वविद्यालयतर्फ पनि उच्च शिक्षा पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम शिक्षामा महिलाहरूको पहुँच बढाउनका लागि ल्याएका हौं’ उनले भने, ‘यो एउटा प्रदेशको चिनारी पनि हो । यसले हाम्रो प्रदेशका छोरी–बुहारीको व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच पुग्ने अपेक्षा लिएका छौं ।’

प्रकाशित मितिः   ४ मंसिर २०७६, बुधबार ०९:४६