नेपाल कुवेतसँग पराजित

काठमाडौं : कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसियाली छनोट समूह बी को पहिलो होम खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । दशरथ रंगशाला समयमै सम्पन्न नभएपछि भुटानमा खेलाइएको होम खेलमा नेपाल कुवेतसँग १–० को गोल अन्तरले पराजित भएको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा २७औं मिनेटमा पछि परेको नेपालले सम्हालिएको प्रदर्शन गरे पनि जीत निकाल्न सकेन । कुवेतको जीतमा कप्तान बदर अल मुतावाले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले २७औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई छक्याउँदै गोल गरेका थिए । कप्तान तथा गोलकिपर किरण चेम्जोङले उनको प्रहार रोक्ने प्रयास गरे पनि सकेनन् ।

गोलपछि दबाबमा परेको नेपालले आक्रामक खेले पनि अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । ६१औं मिनेटमा नेपालका रञ्जित धिमालले गरेको प्रहार बाहिरिएको थियो । त्यसअघि नेपालले ४१औं मिनेटमा गोलको सुन्दर अवसर खेल फालेको थियो । १५औं मिनेटमा पहिलो गोलको अवसर खेर फालेको नेपालले एकपछि अर्को अवसर पाए पनि सदुपयोग गर्न सकेन । २३औं मिनेटमा पेनाल्टी क्षेत्रबाट सुजल श्रेष्ठको दिएको क्रस अभिषेक रिजालले पोष्ट बाहिर प्रहार गरेका थिए । नेपाल यसअघि कुवेतविरुद्धको अवे खेलमा नेपाल ७–० को गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मितिः   ४ मंसिर २०७६, बुधबार ०९:४३