६ महिनाका लागि विद्यालय बन्द
डोल्पा : उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय ६ महिनापछि खुल्ने गरी बन्द भएका छन् । कार्तिक महिनामै हुने हिमपात र दिनप्रतिदिन बढ्दै गएको अत्याधिक चिसोको कारण पठनपाठन क्रियाकलाप सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीयका सम्पूर्ण विद्यालय बन्द भएका हुन् ।
आगामी वैशाख पहिलो हप्ताभित्र पुनःखुल्ने गरी सबै विद्यालय बन्द भएपछि सम्पूर्ण शिक्षक विद्यार्थी घरतिर फर्किसकेका छन् । उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका २३ वटा विद्यालय छ महिनाका लागि बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले जानकारी दिए । चिसो बढेर बस्न नसकिने भएपछि ६ महिनाका लागि विद्यालय बन्द भएको बताउँदै करिब तीन हजार विद्यार्थी घरमै रहेको समन्वय इकाईले जनाएको छ ।
शे–फोक्सुण्डो गाउँपलिकाकामा कार्तिक १५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द भएका हुन् । गाउँ शिक्षा समितिको औपचारिक निर्णय गराएर ६ महिनापछि खुल्ने गरी विद्यालय बन्द गरिएको वडा नं. १ का सदस्य पेमा छिरिङ गुरुङले बताए । त्यसैगरी छार्का ताङ्सोङ गाउँपालिकामा चैत्र पहिला साताभित्र खुल्ने गरी विद्यालय बन्द भएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । डोल्पोबुद्ध गाउँपलिकाका पनि सम्पूर्ण विद्यालय बन्द भइसकेको अध्यक्ष तेम्बा गुरुङले बताए । गाउँका विद्यालय बन्द भएपछि आर्थिक स्थिति राम्रो भएका विद्यार्थी काठमाडौं पुगेर अतिरिक्त कक्षा लिने गर्छन् भने आर्थिक स्थिति कमजोर भएका विद्यार्थी बुवाआमासँगै जाडो छल्न तल्लो ठाउँका विभिन्न स्थानमा झर्ने गर्छन् । जाडो सकिएर गर्मी महिना सुरु भएपछि वैशाख महिना मात्रै विद्यालयमा शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ । दिनप्रतिदिन बढ्दै गरेको चिसोले बस्न नसकिने भएपछि उपल्लो डोल्पाका अधिकांश स्थानीय घरमा ताल्चा मारेर पशु चौपायसहित बेसी झर्न थालेका छन् ।
प्रकाशित मितिः ४ मंसिर २०७६, बुधबार ०९:४१
साझा बिसौनी ।