काँक्रेविहारमा सुविधायुक्त शौचालय

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको ऐतिहासिक पर्यटकीय स्थल काँक्रेविहारमा अत्याधुनिक शौचालय निर्माण गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिका, यूएनडीपी र अन्तरनिर्भर समाजको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको हो ।

काँक्रेविहारमा सार्वजनिक शौचालय नहुँदा पर्यटकहरूले समस्या भोग्नु परेको थियो । मंगलवार विश्व शौचालय दिवसको अवसरमा उक्त शौचालयको शिलान्यास गरिएको छ । शौचालय निर्माण भएपछि काँक्रेविहार अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज हुने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए । २८ लाख रूपैयाँमा शौचालय निर्माण हुन लागेको हो । शौचालय वातावरणमैत्री, बालमैत्री, लैङ्गिकमैत्री गराइने अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालय नजिक पनि सोही किसिमको शौचालय निर्माणको मंगलवार नैै शिलान्यास गरिएको छ ।