बाल्यकालको सपना भुलेर सहकारीमा

चरित्रकुमार बिसी

वीरेन्द्रनगर नगरपालिका–११ सिमलकुनाका चरित्रकुमार बिसीको सपना थियो प्रहरी बन्ने । प्राथमिक कक्षा अध्ययन गर्दै गर्दा उनले आफ्ना साथीभाइहरूसँग भविष्यमा प्रहरी बन्ने सपना सुनाउँथे । घरपरिवारमा समेत उनले त्यो सपना बाँड्थे । तर उनको बाल्यकालको सपना पूरा भने भएन ।

वि.सं. २०४८ पुस २ गते बुवा चन्द्रबहादुर बिसी र आमा मनसरा बिसीको कोखबाट जन्मिएका उनी अहिले फरक बाटोमा छन् । १५ वर्षको उमेरदेखि नै सहकारीमा आवद्ध भएका बिसी अहिले आलोपालो बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक छन् । काम गर्दै जाँदा प्रहरी बन्ने सपना बिर्सिएर सहकारीको प्रबन्धकको भूमिकामा रमाइएका उनले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटेः

म सानैदेखि सरल स्वभावको थिएँ । हामी चार भाइबहिनीमध्ये छोरामा म कान्छो हुँ तर म भन्दा पछाडि बहिनी छन् ।
मेरो पढाइ राम्रै थियो । पढाइमा फेल कहिल्यै भइनँ । उच्च शिक्षासम्म मेरो पढाइ मध्यमनै रह्यो । तर अतिरिक्त क्रियाकलापमा भने म सधंै अगाडि नै हुन्थें ।

मलाई सानैदेखि प्रहरी बन्ने रहर थियो । मैले विद्यालयमा समेत साथीहरूलाई भविष्यमा प्रहरी बन्ने सपना बाँड्थें । तर म १५ वर्षको उमेरमा नै श्री आलोपालो बचत तथा ऋण सहकारी संस्थामा जागिर गर्न थालें । काम गर्दै जाँदा एकवर्षमा नै सहकारीको प्रबन्धकको पद सम्हाल्ने मौका समेत पाएँ । त्यसैले मैले बाल्यकालमा बुनेको सपना बिर्सिएँ । यसैमा रमाएँ ।
वि.सं. २०६३ सालमा अमरज्योति नमूना उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हँु । प्रविणता प्रमाण–पत्र तहमा अमरज्योतिबाटै व्यवस्थापन विषय लिएर पास गरेँ ।

मलाई यो पेसामा लाग्न मेरो हजुरबुवा सहविर बिसीले प्रेरणा दिनुभएको हो । मेरो अंकल जगतकुमार बिसी र मेरो बुवाको समेत यो पेसामा प्रेरणा छ । वि.सं. २०६४ सालमा काम सुरु गरेको थिएँ, प्रबन्धक भएको करिब ११ वर्ष भयो । धेरै व्यक्तिहरूका आ–आफ्नै चाहना हुन्छन् । तर सहकारीमा आवद्ध हुनेहरूका लागि भने आर्थिक क्षेत्र सबैभन्दा महŒवपूर्ण हुन्छ । समग्रमा भन्ने हो भने सहकारीमा काम गर्न चुनौती पनि छ । तर मैले सानातिना चुनौतीहरूलाई किनारा लगाउँदै काम गर्दै आएको छु । अहिले मलाई यही क्षेत्रबाट केही गर्न सकिन्छ भन्ने हौसला मिलेको छ ।

आर्थिक कुरासँग सहकारी जोडिन्छ । त्यसैले सहकारीमा अनियमितता भएन भने एकदमै राम्रो हुन्छ । मलाई आफू अध्ययन गरेको विषय अनुसार पेसा पनि मिल्दो छ । अर्कोकुरा म सहकारीमा काम गर्दा–गर्दै रमाएको हुँ । यसको अवला मलाई अन्य सामाजिक कामहरूमा रुचि छ । कार्यालयमा समय व्यवस्थापन गरेर म साामाजिक कामहरूमा सहभागी हुने गरेको छु ।

हाम्रो समाज अझै पेसाको पछाडि दौडिएको छ । पेसा कस्तो र के भन्नु भन्दा पनि पेसालाई कतिसम्म मर्यादामा राख्ने भन्ने व्यक्तिको व्यवहारमा भरपर्ने कुरा हो । समाजमा शिक्षक मर्यादित पेसा मानिन्छ तर शिक्षकले पेसाको मर्यादा विपरित गैरकानुनी काम गर्दै हिँड्छ भने समाजको नजरमा शिक्षक पेसा नराम्रो कहलिन्छ ।
सहकारीकर्मीहरू पनि जब आर्थिक कुरामा पारदर्शी हुँदैनन् । नागरिकले पत्याउने स्थान रहँदैन । त्यसैले पेसाको मर्यादा सबैले राख्नुपर्दछ । मलाई आजभोलि सहकारीमै काम गरेर राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ भन्ने लागेको छ । अझै राम्रोसँग यही पेसामा लाग्ने मन छ । म मात्रै होइन मेरो पेसाप्रति परिवार पनि खुशी छ । किनकी बुवा, अंकल र हजुरबुवाहरूले प्रेरणा दिएर रोजेको पेसा हो ।

हाल हामी वीरेन्द्रनगर–१२ एयरपोर्टमा बस्दै आएका छौं । वैवाहिक जीवनको कुरा गर्दा २०७१ सालमा यामकुमारी ढकालसँग मेरो विवाह भएको हो । छोरासहित अहिले मेरो परिवारमा ६ जनाको छौं । आर्थिक रूपमा पनि त्यति असजिलो यो पेसाबाट भएको छैन । हरेक क्षेत्रमा इमान्दार हुनु जरुरी छ । बेरोजगार भएर हिँडेका युवाहरूलाई मैले हरेक गाउँटोलमा सहकारी छन् । सहकारीमा कारोबार गरी विभिन्न उद्योग, व्यवसाय र कृषिमा लगानी गर्न सुझाव दिन्छु । हरेक व्यक्तिले केही न केही पेसा अपनाउनुपर्छ । तबमात्रै परिवारमा हुने आर्थिक अभाव कम गर्न सकिन्छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७६, बुधबार ०९:३८