मन्त्रिपरिषद् हेरफेर

छलफल तीव्र, मन्त्रीको सूची तयार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि तीव्र छलफल चलेको छ । केही दिनमै मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने गरी नेकपामा गृहकार्य सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरूलाई हटाएर अरुलाई अवसर दिने तयारी गरेपछि छलफल भइरहेको हो । बिदाइ गर्ने मन्त्री र नयाँ मन्त्रीबारे बालुवाटार र खुमलटार केन्द्रित छलफल तीव्र भएको हो । दोस्रो पटक प्रधानमन्त्री बन्ने क्रममा आफ्नो गुट निकटलाई मात्रै मन्त्री बनाएपछि ओली आलोचित भएका थिए । आफ्नो गुटका लागि मात्रै च्यापेर मन्त्री बनाएपछि उनीहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै नेकपाभित्र आलोचना चुलिइरहेका बेला केही दिनमै क्याबिनेटका सदस्य परिवर्तनको रस्साकस्सी नेकपाभित्र सुरु भएको हो ।

आफ्नो सचिवालयका ६ जना सदस्यलाई बिदाइ गरेका प्रम ओलीले मन्त्रीहरू फेर्न यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । बालुवाटार–खुमलटार मन्त्री परिवर्तन
तयारी भएपछि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादीमा धेरै आकांक्षीहरू देखिएका छन् । त्यहीकारण आज (सोमवार) हुने भनिएको मन्त्रिपरिषद् विस्तार केही दिन धकेलिन सक्ने स्रोतले जनाएको छ । नयाँ आकांक्षी र बिदाइ गर्ने मन्त्रीको नामबारेमा सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि छलफल भएको थियो । त्यसैगरी सोमवारै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मन्त्रीपरिषद् हेरफेरबारे खुमलटारमा छलफल भएको स्रोतले जनाएको छ । तर उक्त भेटलाई सुरुङ मार्ग निर्माणबारे इन्जिनियरको टोलीसँग तीन नेताबीचको छलफल मात्रै भनिएको छ ।

फेरिनेमध्ये केही नाममा सहमति जुटिसके पनि अझै केही नाममा कुरा मिलि नसकेको स्रोतको दावी छ । फेरिने मन्त्रीको सूचीलाई अन्तिम रूप दिने तयारीमा प्रधानमन्त्री लागेका छन् । उनले यसका लागि उनले कम्तीमा पाँच जना मन्त्री फेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जुटाएको स्रोतको दावी छ । पाँचजना हट्दा तत्कालीन एमालेबाट तीन जना र तत्कालीन माओवादी केन्द्रबाट कम्तीमा दुई जना हुनेछन् । केही मन्त्रीहरूको विवादास्पद गतिविधिका कारण सरकार नै आलोचित भइरहेको छ । प्रधानमन्त्री ओलीले समेत मन्त्रीहरूको कार्यशैलीप्रति पटक–पटक असन्तुष्टी जनाइसकेका छन् । यसैबीच प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिएका केही सदस्यलाई पुनः फर्काउनेबारे प्रधानमन्त्रीले छलफल थालेका छन् ।

प्रकाशित मितिः   ३ मंसिर २०७६, मंगलवार ०९:२१