पत्रकारहरुमाथि असुरक्षा

सुर्खेत : कर्णाली प्रदेशमा करिब दुई वर्षको अवधिमा पत्रकारमाथि नौ वटा हिंसाका घटना भएका छन् । फ्रिडम फोरमले सार्वजनिक गरेको एक प्रतिवेदनमा पछिल्लो दुई वर्षमा पत्रकारमाथि नौ वटा हिंसा भएका छन् ।

सन् २०१८ मा तीन वटा र सन् २०१९ को नोभेम्बरसम्म ६ वटा घटना भएको फोरमले जनाएको छ । यो अवधिमा देशभरका पत्रकारमाथि भने ९७ वटा घटना भएका छन् । समाचार लेखेको आधारमा पत्रकारमाथि हिंसा हुने गरेको फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झाले बताए । उनले पत्रकारले न्याय नपाउँदा पत्रकारमाथि यस्ता खालका घटना हुन प्रोत्साहन भएको समेत बताए । सोमवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सुरक्षा र दण्डहिनता विषयक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पत्रकारहरूको सुरक्षाका लागि राज्यले तदारुकता देखाउने गरेको बताए ।

पत्रकारमाथि हुने असुरक्षा र दण्डहिनतालाई अन्त्य गर्नका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी र दण्डहिनता अन्त्यका लागि सरकार प्रतिबद्ध छ ।’ कार्यक्रममा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले कसरी पत्रकारमाथि हुने हिंसा र दण्डहिनतालाई न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक रहेको बताए । साथै पत्रकारहरूले स्वतन्त्र भएर कलम चलाउन पनि उनको आग्रह थियो । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले पत्रकारहरूको सुरक्षाका लागि आफूहरू तयार रहेको पनि बताए । उनले हरेक व्यवसायमा जोखिम हुने भएकाले यस्ता घटनाहरूलाई बाहिर ल्याउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मितिः   ३ मंसिर २०७६, मंगलवार ०९:१९