आन्दोलनमा जनमोर्चा

सुर्खेत : राष्ट्रिय जनमोर्चा सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जिल्ला समिति सुर्खेतको सोमवार बसेको २०औं पूर्ण बैठकले संगठनात्मक तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

आन्दोलन अन्तर्गत मंसिरदेखि चैतसम्म जिल्लाव्यापी रूपमा ‘राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित संघर्षको कार्यक्रम गरिने जनाइएको छ । यस्तै क्षेत्रगत रूपमा पूर्व, पश्चिम र मध्य गरी संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने, आगामी फागुनमा हुन गइरहेको चौंथो जिल्ला सम्मेलनलाई सफल पार्न पुसको दोस्रो हप्ताभित्र जिल्ला भेला गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको जनमोर्चा सुर्खेतले जनाएको छ ।

साथै भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायत भू–भाग आफ्नो राजनैतिक नक्सामा सामेल गरेपछि विरोधमा उत्रिएका जनमोर्चाले यसमा सहभागी हुन सबैसँग अपिल समेत गरेको छ । सीमा समस्या कुनै पार्टीगत नभएर राष्ट्रिय समस्या भएकाले यसको समाधान नै साझा आन्दोलन भएको जनमोर्चाको निश्कर्ष छ । त्यसैले सम्पूर्ण राजनैतिक दल, भ्रातृसंगठन, आम नागरिकलाई सीमा रक्षाको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवाव सिर्जनाको लागि आन्दोलनमा होमिन आग्रह गरिएको जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । बैठक अध्यक्ष सुवेदीको अध्यक्षता तथा कर्णाली प्रदेश इञ्चार्ज रत्नविक्रम प्यासी र सुर्खेत इञ्चार्ज कृष्णाकुमारी रावलको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३ मंसिर २०७६, मंगलवार ०९:१८