युवा नीति कार्यान्वयनमा जोड

सुर्खेत : राष्ट्रिय युवा नीति कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूले जोड दिएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप)ले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय युवा नीति विषयक छलफल कार्यक्रमका सहभागीहरूले जतिसक्दो छिटो युवा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा पीताम्बर ढकालले युवा नीति समग्रमा राम्रो भए पनि कार्यान्वयनमा आउन नसकेकोमा दुःख व्यक्त गरे । उनले नीति निर्माणमा सरकार अग्रसर भए पनि कार्यान्वयनको पक्षमा भने चुकेको बताए । त्यस्तै अधिवक्ता रमा प्याकुरेलले नीतिको विषयमा युवाहरूलाई समेत जानकारी नहुनु लाजमर्दो कुरा भएको बताइन् । उनले जसका लागि नीति बनेको हो उनीहरूलाई नै जानकारी गराउनमा सबै लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा सहभागी अधिकांशले नीतिमा के छ भन्ने कुरा जानकारी नहुँदा पनि कार्यान्वयनमा समस्या भएको बताएका थिए । कार्यक्रममा अधिवक्ता डा. रमेश पराजुलीले युवा नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   ३ मंसिर २०७६, मंगलवार ०९:१७