पूर्वाधार विकासमा ‘कछुवा गति’
सुर्खेत : सम्झौता अनुसार वीरेन्द्रनगर चक्रपथ निर्माणको काम हालसम्म सम्पन्न भइसक्नुपर्ने हो । तर सम्झौता अवधि सकिनै लाग्दासम्म्म पनि निर्माणको काम सुरु हुन समेत सकेको छैन ।
पछिल्लो पटक दुई वर्षभित्र निर्माणको काम सम्पन्न गर्नेगरी २०७४ चैत्र २३ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि निर्माणको काम हालसम्म सुरु भएको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेको चक्रपथको काम हाल प्रदेश मातहतको चौरजहारी सडक डिभिजनले हेर्ने गरी जिम्मा पाएको छ । सडक डिभिजनले जग्गा विवादका कारण काम सुरु गर्न नसकिएको बताउँदै आएको भए पनि, चक्रपथ निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी खड्का–कृष्ण, क्याराभान जोइन्ट भेन्चरले भने सम्बन्धित कार्यालयले कामको आदेश नदिएको बताएको छ । निर्माण कहिले सुरु हुन्छ र कहिलेसम्म सम्पन्न हुन्छ यसको कुनै टुङ्गो छैन ।
यस्तै वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्म करिब साढे ८ किलोमिटर फोरलेन सडक निर्माणको काम सुरु भएको समेत तीन वर्ष बित्यो । तर अहिलेसम्म पनि सडक निर्माणको काम सम्पन्न हुन सकेको छैन । वि.सं. २०७२ साल जेठमा वीरेन्द्रनगरको सहरीकरण अवधारणा अनुसार सर्भे गरिएको फोरलेनको काम सरु गर्नको लागि २०७३ सालमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । काम दुई वर्षमा सम्पन्न गर्ने भनी सम्झौता भए पनि सडक निर्माणमा सुस्तता देखिएको छ । सडकलाई तीन खण्डमा विभाजन गरी निर्माण कार्य सुरु गरिएको भए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । फोरलेन सडकको पहिलो खण्ड धुलियाविटदेखि साविकको सञ्चयकोषसम्मको काम समयमै सम्पन्न भए पनि अन्य दुईवटा खण्डले भने नागरिकलाई निकै सास्ती दिएका छन् ।
त्यसैगरी २०६८ सालदेखि निर्माण कार्य सुरु भएको सुर्खेत बसपार्क समेत अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सुर्खेत बसपार्कको काम राम्रोसँग अघि नबढेपछि वि.सं. २०७२ सालमा च्याङ्मिला÷नरसिंह जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । दुई वर्षमा काम सक्ने गरी जिम्मा लिएको कम्पनीले समेत पटक–पटक म्याद थप गरी काम त सम्पन्न गरेको छ । तर बसपार्क सञ्चालनमा आउन सकेको छैन । साँघुरो कामचलाउ बसपार्कको कारण नागरिकले भने दुःख झेल्दै आएका छन् । बसपार्क समयमै सञ्चालनमा नआउँदा व्यवसायी समेत मर्कामा परेका छन् ।
उल्लेखित दृष्टान्तले सुर्खेतमा पूर्वाधार निर्माणको कछुवा गति देखाउँछ । यहाँको विकासका लागि महत्वपूर्ण मानिएका आयोजनाहरू निर्माणमै ढिलाइ हुँदै आएको छ । जसले गर्दा कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नै विकासमा निकै पछि परेको छ । त्यस्ता थुप्रै आयोजना छन् जो वर्षौंदेखि चर्चामै सीमित छन् । कही आयोजना सुरु नै नभइ रोकिएका छन् भने केही निर्माण कार्य सुरु भएर पनि लामो समयदेखि सम्पन्न नभइ अल्झिएका छन् ।
लामो समयदेखि चर्चामा रहेको एक सय ३२ केभी प्रसारण लाइनदेखि सुर्खेतकै चर्चित पर्यटकीय स्थल बुलबुले उद्यान पुनर्निर्माण कार्य अधुरै छन् । सरकारले निकै महŒवका साथ पटक–पटक बजेट विनियोजन गरेपनि कार्यान्वयन भने हुन सकेको छैन । प्रत्येक वर्ष ठूला योजनाका नाममा बजेट विनियोजन भए पनि अन्ततः बजेट खर्च नभइ फ्रिज हुने अवस्था कर्णाली प्रदेशमा रहेको छ । यसको एक उदाहरण हो, सुर्खेत बुलबुले उद्यान । बुलबुले उद्यान गुरुयोजनामा समेटिएका कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ सालमा पाँच करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा बुलबुले उद्यानका लागि विनियोजन गरेको बजेट खर्च हुन सकेन । पुनः आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारले तीन करोड रूपैयाँ विनियोजन गरेको छ । कर्णाली प्रदेशका यस्ता थुप्रै ठूला पूर्वाधार विकासका योजना छन्, जुन नागरिकका लागि निकै महŒव बोकेका र सरकारले समेत ठूला योजना भन्दै वार्षिक बजेट विनियोजन गर्दै आएको छ । तर तिनको निर्माणको गति भने निकै सुस्त छ ।
प्रकाशित मितिः ३ मंसिर २०७६, मंगलवार ०९:२४
साझा बिसौनी ।