दलित जनप्रतिनिधि जिम्मेवारीविहीन

सल्यान : दलित महिला जनप्रतिनिधिहरूले आफूहरूमाथि विभेद हुने गरेको गुनासो गरेका छन् । आफूहरू जनप्रतिनिधि हो कि होइन जस्तो अनुभूति भइरहेको उनीहरूको भनाइ छ । स्थानीय तहमा हुने विकास निर्माणदेखि हरेक क्षेत्रमा दलित महिलाहरूको समान भूमिकाको ग्यारेण्टी भए पनि व्यवहारतः त्यसो हुन नसकेको उनीहरूले बताउने गरेका छन् ।

वडामा हुने बैठक र बजेट बाडँफाँटमा समान सहभागिता हुने गरे पनि काम गर्ने भनेर जिम्मेवारी नपाएको शारदा नगरपालिका–९ की दलित महिला सदस्य रेखा विकले बताइन् । ‘हामी जनताकै भोटले जितेर आएका हौं । हामीले राखेका कुरामा सबैले छलफल गरेर अघि बढ्नुपर्ने हो’ उनले भनिन् ‘तर भने जस्तो भएको अनुभूति भएको छैन । राजनीतिमा सक्रिय भए पनि महिलाका कुरा त्यसमा पनि दलित महिलाका कुरा सुन्ने र निर्णय लिने संस्कार नभएको बागचौर नगरपालिका–४ की दलित महिला सदस्य जयमाता सुनारले बताइन् । ‘हामीले भनेका कुराको कुनै सम्बोधन नै नहुने होइन तर धेरै ताकेता गर्दा मात्र सम्बोधन हुने गर्दछ’ उनले भनिन ‘सहज रूपमै सम्बोधन हुँदैन ।’ वनगाड कुपिण्डे नगरपालिका–६ की यमा दमाइको भनाइ भने फरक रहेको छ । महिला सक्षम नभएका कारण निर्णायक तहमा कठोर भएर बोल्न नसकेको उनको अनुभव छ । आरक्षण कोटामा निर्वाचित महिलाको सहभागिता उपस्थितिका लागि मात्रै भएको उनको गुनासो छ ।

लक्षितवर्गलाई बजेट विनियोजनको निर्णय गर्दा हात कमाउने गरेको त्रिवेणी गाउँपालिका ६ कि शान्ता विकले बताइन् । सबै मतदातालाई विकासको अनुभूति दिलाउनु पर्छ भन्ने नाममा लक्षित वर्गको योजना छनोटमा ढिलासुस्ती हुने गरेको उनले बताइन् । कतिपय वडामा भने वडाअध्यक्ष र सदस्यहरू समान भूमिकामा रहेका छन् । हरेक निर्णयमा वडा अध्यक्ष बराबरैका भूमिका पाइरहेको सिद्धिकुमाख गाउँपालिका–३ की दलित महिला सदस्य खुमा सुनारले बताइन् । गाउँ कार्यपालिकाले पनि राय सुझाव लिएरै कामकाज गर्दै आइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २ मंसिर २०७६, सोमबार ०९:३६