सांसदलाई प्रविधि तालिम

सुर्खेत :कर्णाली प्रदेशसभाका सांसदहरूलाई दुई दिने प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ । इनोभेटिभ भिजनको आयोजना तथा यूएनडीपी संसद् सहयोग परियोजनाको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषयक कार्यशालामा १६ जना सांसदहरूको सहभागिता रहने आयोजक संस्था ईनोभेटिक भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले जानकारी दिए । संसदीय पत्रकार समाज कर्णाली प्रदेशले संयोजन गरेको तालिममा सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने, सञ्चार माध्यमहरूलाई कसरी प्रयोग गर्ने लगायतका विषयमा जानकारी दिइने आयोजकले बताएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले तालिमबाट थुप्रै कुरा
सिक्ने बताए । त्यस्तै सामाजिक विकास समितिकी अध्यक्ष राजु नेपालीले सिक्ने कुरामा कोही पनि सानो ठूलो नभइ प्रविधिलाई सिक्नैपर्ने बताइन् ।

विधायन समितिका अध्यक्ष पदमबहादुर रोकायले सिक्ने कुरामा पछाडि पर्न नहुने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रविधिले विश्वलाई नै सानो गाउँको रूपमा परिणत गरेकोले प्रविधिलाई राजनीतिकर्मीले बढी भन्दा बढी प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   २ मंसिर २०७६, सोमबार ०९:३५