‘सबैकी प्यारी थिएँ’

                                  शान्ता कँडेल

वीरेन्द्रनगर–८, सुर्खेत निवासी शान्ता कँडेल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलकी शिक्षक हुन् । बुवा तेजप्रसाद ज्ञवाली र आमा भविकला ज्ञवालीको सन्तानका रूपमा पाल्पाको माथागढी गाउँपालिकामा जन्मिएकी हुन् कँडेल विगत २१ वर्षदेखि शिक्षण पेसामा सक्रिय छिन् । शिक्षणमै रमाएकी उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरिन्ः

बाल्यकाल रमाइलोसँग बित्यो । हामी तीन दाजु र दुई बहिनी । तीन दाजुपछि म जन्मिएको भएर सबैको माया पाएँ । आमाले मलाई तीन छोरापछि जन्मिएकोे भन्दै ‘तँ हाम्रो लागि चिज होस्’ भन्नुहुन्थ्यो । म सानैदेखि विद्यालय जान थालेँ । घरको नजिकैमा विद्यालय थियो । दाइहरूले मलाई नजिकै भए पनि बोकेर विद्यालय लिएर जानुहुन्थ्यो । पढाइमा मेरो रुचि सानैदेखि थियो । दिउँसोको समयमा विद्यालय जाने भए पनि बिहान–साँझ भने घरको काम गर्नुपर्ने हुन्थ्यो । मेरो मागमा पानी बोक्ने र खाना पकाउने काम पथ्र्यो ।

घरबाट पन्ध्र मिनेटको बाटो हिँडेर पानी लिन जानुपथ्र्यो । कहिलेकाहीँ दाइहरूसँग गोठाला र मेलापात जाने गर्थें । मैले काम गर्नुको दुःखले पनि होमवर्क छ, पढ्नु छ भनेर भन्थें । पढ्न छ भनेपछि आमा र दाइले काम गराउनु हुँदैनथ्यो । म भने त्यतिकै उहाँहरूलाई मेरो पढाइ छ भनेर ठग्थें । काम गर्नुपर्दा किताब समातेर बसिहाल्थें । दाइहरूले पनि मेरो काममा सहयोग गर्नुहुन्थ्यो ।

कक्षा ६ देखि मैले मेरो माइलो दाइसँगै पढ्ने अवसर पाएँ । मेरो मिल्ने साथी भनेकै मेरो दाइहरू हुनुहुन्थ्यो । तर म बाल्यकालदेखि आज्ञाकारी भने थिएँ । आमा र दाइले केही नगर अथवा यसो गर भनेपछि भनेको मान्थें । एक पटक ढिक्कीमा मकै कुट्दा मेरो हातमा चोट लाग्यो । घरमा आमाले गाली गर्नुहुन्छ भनेर दाइले कसैलाई नभन्नु भन्नुभयो । सिँधै अस्पताल लिएर हातमा ब्याण्डेज लगाएर घर ल्याउनुभयो । राती घर आउने बेलासम्म खासै दुखेको थिएन । राती घाउँ बढी दुखेपछि आमाले थाहा पाउनु भएछ ।

बाल्यकालमा कहिलेकाहीँ सानोतिनो बदमासी पनि गरियो । कहिलेकाहीँ दाइहरूलाई केही चोरेर खानुपरे सघाउँथे । फलफूलहरू बढी चोर्ने काम हुन्थ्यो । म खासै सहभागी नभए पनि सहयोग भने गर्थें । मैले भने घरमा दही चोरेर खुब खान्थें । विद्यालयबाट फर्केपछि मलाई दही चोरेर खानै पथ्र्यो । आमाले आँटीमा दही राख्नुहुन्थ्यो । ठेकीबाटै हात हालेर दही चोरेर खान्थें । दाइहरूले पनि कहिलेकाहीँ त्यसैगरी दही चोरेर खानुहुन्थ्यो । आमाले दही कसले चोरेर खाएछ भनेपछि दाइहरूले भनेर भनिदिन्थें । एक दिन आमाले मलाई दही चोरेर खाइरहेको अवस्थामा भेटाउनुभयो । त्यसपछि आमाले सिस्नोपानी लगाएर बाँधेर राख्नुभयो । त्यसपछि कहिल्यै चोरेर खाइनँ ।

स्कुलमा पढ्न नआएपछि सरहरूले सजाय दिनुहुन्थ्यो । एक पटक १४ अञ्चल ७५ जिल्लाको नाम भन्न नसकेर पाँच सय पटक उठबस गरेको सम्झना छ । कहिलेकाहीँ विद्यालयमा आफूले सरले भनेको कुरा जानी हाल्यो भने खुशी पनि लाग्थ्यो । एक पटक कक्षामा सरले पाठ पढ्न लगाउनुभयो । चार कक्षामा पढ्ने बेला हो । ‘मेरो सानो खरायो’ भन्ने पाठ थियो । कक्षामा मसहित दुई जनाले मात्र जान्यौं । सरले अरु सबै साथीहरूलाई एक खुट्टाले हिँडेर विद्यालय वरीपरी हिँड्न लगाउनुभयो हामी दुई जनालाई भने ताली बजाउन लगाउनुभयो ।

विद्यालयमा दिउँसो आधा घण्टा जति छुट्टी हुन्थ्यो । तर त्यो समय भने एकै छिनमै बितेझै लाग्थ्यो । खाजा खाने समयसँगै विद्यालयमा साथीहरूसँग खेल्ने र रमाउने भनेकै त्यही समय हुन्थ्यो । घर नजिकै भए पनि पसलकै खाजा खान मन पथ्र्यो । त्यतिबेला समोसा खाएको सम्झना अहिले पनि धेरै आउँछ । पाल्पाको सबैभन्दा लोकप्रिय खाजा चुकाउनी हो । घरकै खाजा हुँदा आमाबाट लुकीलुकी पसलमै खाजा खान जान्थ्यौं ।

हामीले कपर्दी, खुट्टी खेल बढी खेल्थ्यौं । पढाइबाहेक खेलमा पनि रुचि थियो । म भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङजम्प खेल खेल्थेँ । दौडमा पनि त्यतिकै अघि थिएँ । विशेष गरेर विद्यालयको वार्षिकात्सव, विद्यालयले शुक्रवार आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा खेलकुदका कार्यक्रमहरू हुन्थे । खेलकुदबाट मैले पुरस्कार पाइरहन्थें । पढाइमा म त्यति नराम्रो विद्यार्थी भने थिइनँ । फेल भने एसएलसी भन्दा अगाडि भइनँ । तर पहिलो, दोस्रो भने हुन सकिनँ । मेरो ठूलो बुवाका छोरा–छोरी पढाइमा प्रथम भएर पुरस्कार जित्नुहुन्थ्यो भने मेरो दाइ र म खेलकुदमा पुरस्कार जित्ने गथ्र्यौं । आमाले कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो, ‘खेलकुदमा जितेर भए पनि पुरस्कार ल्याउँदा मन बुझ्छ ।’

म चार वर्षको हुँदा बुवाको निधन भएको हो । आमाले नै हामीलाई पढाउनुभयो, हुर्काउनुभयो । उहाँले हाम्रो लागि गरेको दुःख अमूल्य छ । उहाँको योगदानले गर्दा नै हामी अहिले यो स्थानमा छौं भन्ने लाग्छ । मामाको घर नवलपरासी थियो । प्रायः मामा घर जाने भनेको नै चाडपर्वको समयमा हुन्थ्यो । गाउँमा त्यस समयमा सडक पुगेको थिएन । बत्ती, सञ्चारको सुविधा पनि थिएन । मामाको घर जानका लागि गाडी चढ्ने कि सदरमुकाम आउनुपथ्र्यो कि खैरेनी । खैरेनीबाट गाडी चढ्यो भने थोरै पैसा लाग्ने भएर हामी लामो बाटो हिँडेर खैरेनी पुग्थ्यौं ।

बाल्यकालमा चाडपर्व रमाइलो लाग्थ्यो । चाडपर्वको समयमा गाउँमा मेला लाग्थे । मेला हेर्न जाने धेरै नै रहर लाग्ने । रातीको समयमा मेलामा रमाइलो हुन्थ्यो । आमाले भने खासै रातीको समयमा बाहिर जान दिनुहुन्थेन । एक पटक दाइसँग राती आमालाई थाहा नै नदिएर घरको बारदलीबाट भागेर गयौं । घर आउने समयमा आमाले गाली गर्नुहुन्छ भने डर लाग्यो । अनि रुदै घर आएँ । म रुँदै आएको देखेपछि आमाले गाली गर्नुभएन ।

बाल्यकालमा जे देख्यो, जे पढ्यो त्यो बन्छु भन्ने लाग्ने रहेछ । खेलकुदमा बढी रुचि भएकाले सुरुसुरुमा मलाई आर्मी, प्रहरीतिर रुचि थियो । ठूलो बुवाले आर्मी–प्रहरी पेसा त्यति ठीक हुन्न भन्नुभयो । पछि कक्षा ९ र १० मा पढ्दा ऐच्छिक विषय मैले स्वास्थ्य लिएर पढेको थिएँ । त्यसबेलामा स्टार्फ नर्सकी अनमी बन्छु भन्ने लक्ष्य लिएको थिएँ । तर पूरा भएन । एसएलसीपछि विवाह भएर सुर्खेत आएँ । यहाँ घर नजिकै क्याम्पस भएकाले शिक्षा लिएर पढें । तर मैले मेजर विषय भने स्वास्थ्य लिएर पढें । २०५५ सालदेखि शिक्षण पेशामा छु ।