महिला उद्यमीहरु संगठित

सुर्खेत : कर्णाली प्रदेशका महिला उद्यमीहरू संगठित भएका छन् । प्रदेशका दशवटै जिल्लामा उद्यमीहरू भेला भइ प्रदेशस्तरीय महिला उद्यमी उपभोक्ता सहकारी संस्था गठन गरेका हुन् ।

सहकारीको संयोजकमा सुर्खेतकी पार्वती गिरी चयन भएकी छन् । त्यस्तै सह–संयोजकमा सीता गौतम छिन् भने सदस्यहरूमा कालिकोटकी बाटु शाही, जाजरकोटकी पम्फा चन्द, रुकुमपश्चिमकी प्रेमा बुढा, जुम्लाकी दुर्गा न्यौपाने र डोल्पाकी पवित्राकुमारी शाही चयन भएका छन् । अन्य जिल्लाहरूमा भने समितिले पछि चयन गर्ने संयोजक पार्वती गिरीले बताइन् । उनका अनुसार भेलाले प्रदेशस्तरीय व्यावसायिक प्रवद्र्धन समिति समेत गठन गरेको छ । जसको संयोजकमा कालिकोटकी धर्मा शाही चयन भएकी छन् भने सह–संयोजकमा सुर्खेतकी ज्ञानु भुषाल चयन भएकी हुन् ।

त्यस्तै जिल्लास्तरीय व्यावसायिक प्रवद्र्धन समिति सुर्खेतको संयोजकमा कृष्णा वंशी, सह–संयोजकमा मीना गैरै, सदस्यहरूमा लक्ष्मी उपाध्याय, हिरा बुढा, गौरादेवी गिरी र सपना परियार चयन भएका हुन् । अन्य जिल्लाहरूमा भने मूल समितिले समिति निर्माण गर्ने गिरीले जानकारी दिइन् । उनले महिलाहरूलाई उद्योगमा प्रोत्साहन गर्न र उनीहरूको अधिकारको लागि लड्ने संस्थाको मुख्य उद्देश्य रहने बताइन् ।
महिला उद्यमी उपभोक्ता सहकारी संस्था काठमाडौंकी अध्यक्ष शान्ति गुरुङ्गले नवनिर्वाचित समितिलाई बधाई दिँदै कर्णालीमा अर्गानिक उत्पादनमा समेत लाग्न आग्रह गरिन् । उनले सरकारले महिला उद्यमीहरूको लागि विनियोजन गरेको बजेटको विषयमा महिलाहरूले खोजी गर्नुपर्ने समेत भनाइ राखेकी थिइन् ।

प्रकाशित मितिः   २ मंसिर २०७६, सोमबार ०९:२९