एक वर्षभित्र अन्वेषण

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अबको एक वर्षभित्रमा सम्पन्न हुने भएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र अन्वेषण सकिनेछ ।

विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ । अन्वेषणका लागि आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको भनिएको क्षेत्रमा खटिएको छ । अन्वेषणका लागि झण्डै ४० वर्ग किलोमिटर क्षेत्रमा चार हजार पाँच सय मिटर गहिराइसम्म खनिनेछ । खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरे भन्छन्, ‘पेट्रोलियम ग्यासको सम्भाव्यता देखिएकाले अहिले अन्वेषणात्मक काम भइरहेको छ । यसै महिनामा त्यस क्षेत्रमा साईज्मिक (भूकम्पीय) सर्वेक्षण सुरु हुनेछ । त्यो भएपछि विस्तृत विवरण आउनेछ ।’ उनका अनुसार विभिन्न ठाउँमा स–साना कम्पन सिर्जना गरेर सर्वेक्षण गरिनेछ । जमिनको सतहबाट चार हजार पाँच सय मिटरभित्र छेडेर कुवा खन्ने उपयुक्त ठाउँ छनोट गर्ने तयारी रहेको छ ।

नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत अन्वेषण हुन लागेको हो । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दी पछि पुनः नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणको चर्चा सुरु भएको थियो । नेपाल र चीनबीच विभिन्न क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गर्ने सम्झौता भएको छ ।

उक्त नाकाबन्दी पश्चात् नेपाल र चीनबीच भएका विभिन्न सम्झौतामध्ये नेपाली भू–भागमा रहेका सम्भावित पेट्रोलियम खानीहरूको अन्वेषण गर्ने एउटा सहमति पनि थियो । सोही सम्झौताअनुसार यसअघि नै दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको वा नरहेकोबारे प्रारम्भिक अन्वेषण भइसकेको छ । विस्तृत अन्वेषणका लागि अहिले चिनियाँ र नेपाली प्राविधिकहरूको टोलीले दैलेखमा काम गरिरहेको विभागले जनाएको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७६, आईतवार ०८:०१