‘वीरेन्द्रनगरलाई नमुना बनाउँछौं’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरलाई नमुना सहरका रूपमा विकास गर्ने बताएका छन् । शनिवार वीरेन्द्रनगरमा जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश राजधानी रहेको वीरेन्द्रनगरलाई सबै मिलेर नमुना सहरको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

वीरेन्द्रनगरलाई नमुना सहरका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि मुख्यमन्त्री शाहीको भनाइ थियो । सडक, खानेपानी, विद्युत, सरसफाइ तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजनाको आवश्यक रहेको उनले बताए । मुख्यमन्त्री शाहीले अव्यवस्थित रूपमा भइरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताए । स्वच्छ, सफा र प्रदूषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको बताउँदै उनले जथाभावी फोहोर फाल्ने बानीको अन्त्य गर्नुपर्नेमा जोड दिए । शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिएको पनि जानकारी दिए । खानेपानी आपूर्तिको दीर्घकालीन समाधान नहुँदासम्म विभिन्न उपायहरूको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने उनको भनाइ थियो । मुख्यमन्त्री शाहीले पछिल्लो पटकको चीन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आफूले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसी, वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल लगायतको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष नवराज कँडेलका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले ५१ करोड ३१ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि ६९ करोड ८८ लाख ९० हजार रूपैयाँ बजेट प्रस्ताव गरिएको छ । सभा संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १ मंसिर २०७६, आईतवार ०७:५९