महिला उद्यमीलाई अनुशिक्षण

सुर्खेत : अर्गानिक उत्पादनलाई बढावा दिने उद्देश्यले वीरेन्द्रनगरमा महिला उद्यमीहरूलाई दुईदिने अनुशिक्षण सञ्चालन गरिएको छ । महिला उद्यमी उपभोक्ता सहकारी संस्था काठमाडौं तथा महिला उद्यमी उपभोक्ता सहकारी संस्था कर्णाली प्रदेशको आयोजनामा तालिम सञ्चालन गरिएको संस्थाका केन्द्रीय सचिव निर्मला श्रेष्ठले बताइन् ।

शनिवारदेखि सुरु भएकोे दुईदिने कार्यक्रममा सहकारीका परिवर्तित ऐन–नियमका विषयमा जानकारी दिइने श्रेष्ठले बताइन् । ‘फोहोरलाई मोहोर बनाउने प्रयोगात्मक विधि समेत सिकाउँदैछौँ’ उनले भनिन् ‘व्यावसायिक रणनीतिहरूको विषयमा समेत कार्यक्रममा अनुशिक्षण गरिने छ ।’ उनले कर्णाली आफैमा अर्गानिक उत्पादनको हब भएकोले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई स्वदेशमा मात्र नभइ विदेशमा समेत निर्यात गर्नुपर्ने बताइन् । कर्णालीमा अर्गानिक उत्पादनलाई कसरी बढावा दिने भन्ने विषयमा समेत अनुशिक्षण गरिने श्रेष्ठले बताइन् ।

त्यस्तै महिला उद्यमी उपभोक्ता सहकारी संस्था कर्णाली प्रदेशकी अध्यक्ष पार्वती गिरीले प्रदेशस्तरीय सहकारी भेलासँगै महिलाहरूलाई सहकारी ऐन तथा उद्यममा अझै अब्बल बनाउन तालिमले सहयोग पुग्ने बताइन् । उनले कर्णाली प्रदेशस्तरीय समिति निर्माण समेत भेलाबाट गरिने र व्यवसाय प्रवद्र्धन समिति बनाइने जानकारी दिइन् । गिरीका अनुसार कार्यक्रममा कर्णाली प्रदेशकाजुम्ला, कालीकोट, डोल्पा, रुकुमपश्चिम र सुर्खेतका गरी ३० जना महिला उद्यमीहरूको सहभागिता रहेको छ । ‘महिलाहरूलाई आत्मनिर्भर बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो’ उनले भनिन् ‘यो दुई दिनको बसाइँले महिलाहरूलाई थप जिम्मेवार बनाउनेछ ।’ कार्यक्रममा बोल्दै कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले महिला उद्यमीहरूको लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   १ मंसिर २०७६, आईतवार ०७:५६