सुत्केरीको ज्यान बचाउनै मुस्किल

गर्भवती र सुत्केरी महिलाहरुको मृत्युदर बढेपछि कर्णाली प्रदेश सरकारले जोखिममा रहेका महिलाहरुको उद्धारका लागि निःशुल्क हवाई सेवा नै सञ्चालनमा ल्याएको छ । जसमार्फत विकट क्षेत्रका गर्भवती महिलाहरुको उद्धार गरी स्वास्थ्य संस्थासम्म पु¥याउने गरिएको छ । यति हुँदाहुँदै पनि कर्णालीका विकट बस्तीका गर्भवती र सुत्केरी महिलाहरुको ज्यान जोगाउन भने मुस्किल पर्दै आएको छ । सुत्केरी महिलाहरुको ज्यान जाने क्रम रोकिएको छैन ।

सुर्खेत : सुत्केरी हुन नसकेपछि डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी २८ वर्षीया जमानदेवी रोकायको शनिवार सुर्खेतमा मृत्यु भयो । प्रसूति व्यथाले थलिएकी रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट शनिवार दिउँसो उद्धार गरी सुर्खेत ल्याइएको थियो । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोष अन्तर्गत उनको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएपनि ढिला भएकाले अस्पताल पुगे लगत्तै उनको मृत्यु भएको हो ।

यस्तै गत साउन १५ गते हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि लगिएकी २० वर्षीया अनरूपा टमटाको मृत्यु भयो । प्रसूति गृहमा लगिए पनि त्यहाँ उपकरण नहुँदा उनले ज्यान गुमाइन् । त्यसको तीन दिनअघि साउन १२ गते अत्याधिक रक्तश्रावका कारण कालिकोटमा पनि एक जना सुत्केरीको मृत्यु भएको थियो । नरहरिनाथ गाउँपालिका–४ रूप्साकी ३० वर्षीया देवी सहकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यी त पछिल्ला केही उदाहरण मात्रै हुन्, कर्णाली प्रदेशमा वर्षेनी ठूलो संख्यामा गर्भवती र सुत्केरी महिलाहरूले यसैगरी ज्यान गुमाउने गरेका छन् । विशेष गरी साविकको कर्णाली अञ्चलमा पर्ने पाँच हिमाली जिल्लाका गर्भवती महिलाहरू सुत्केरी हुन नसकेर ज्यान गुमाउँदै आएका छन् । पछिल्लो समय घरमा सुत्केरी हुने भन्दा अस्पतालमा सुत्केरी हुन आउने गर्भवती महिलाको ज्यान जाने गरेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्तमान श्रेष्ठले बताए । उनले उपचारको लागि स्वास्थ्य संस्थामा ढिला आउनु नै गर्भवती महिलाको मृत्युको कारण भएको बताए । ‘समग्रमा मातृ मृत्युदर पहिलेको तुलनामा घटेको हो’ उनले भने ‘तर तुलनात्मक रूपमा घरमा भन्दा अस्पताल सुत्केरी हुन आउने गर्भवती महिलाको ज्यान जाने गरेको छ ।’ ग्रामीण क्षेत्रका महिलाहरू घरमै सुत्केरी हुन खोज्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्नाले मृत्युको जोखिम बढेको श्रेष्ठको भनाइ छ ।

तथ्यांक हेर्ने हो भने पनि कर्णालीमा मातृ मृत्युदर वर्षेनी बढ्दो क्रममा रहेको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷७४ मा १८ जना गर्भवती महिलाले ज्यान गुमाएका थिए भने २०७४÷०७५ मा दोब्बरले बढेर ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाए । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा भने १३ जना आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् । जसमध्ये अस्पतालमा पाँच जना र अस्पताल आउँदै गर्दा बाटोमा वा घरमा आठ जनाको मृत्यु भएको उनले बताए ।

पछिल्लो समय सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्नेहरूको संख्या बढे पनि मृत्यु हुनेहरूको संख्यामा भने कमी आएको छैन । घरमै सुत्केरी हुनाले पनि आमाहरूको ज्यान जोखिममा पर्ने गरेको छ । तर स्वास्थ्य संस्थामा पुगेका सुत्केरीको मृत्यु पनि बढ्दो छ । स्वास्थ्य सुविधा गुणस्तर नभएका कारण कर्णाली प्रदेशमा मातृ मृत्युदर बढ्दै गएको छ । विगत चार वर्षको तथ्यांक हेर्दा कर्णालीका सुत्केरीहरू असुरक्षित अवस्थामा रहेको देखाउँछ ।

मृत्यु हुनेहरूको तथ्यांक हेर्दा मुख्यगरी डोल्पा, हुम्ला, कालिकोट, मुगु र जाजरकोटमा सुत्केरी हुने बेलामा मृत्यु हुनेहरूको संख्या बढी छ । सुत्केरीको अवस्था नाजुक भएपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिका कारण कर्णालीमा स्वास्थ्य संस्थामा पु¥याए पनि मृत्यु हुने गरेको पाइएको छ । मातृ मृत्युदर बढेपछि सरकारले गर्भवती र सुत्केरी महिलाको उद्धार सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारले यसका लागि एयर एम्बुलेन्स नै सञ्चालन गरेको छ । जसमार्फत विकट क्षेत्रका गर्भवती महिलाहरूको उद्धार गरी स्वास्थ्य संस्थासम्म पु¥याउने गरिएको छ । यति हुँदाहुँदै पनि कर्णालीका विकट बस्तीका गर्भवती र सुत्केरी महिलाहरूको ज्यान जोगाउन भने मुस्किल पर्दै आएको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७६, आईतवार ०८:०४