झर्यो एउटा तारा
सुर्खेत : साझा बिसौनी संवाददाता डिलप्रसाद शर्माको २३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित सिभिल हस्पिटलमा बोनम्यारो ट्रान्सप्लान्ट (मासी प्रत्यारोपण) गर्ने क्रममा बिहीवार दिउँसो उनको देहावसान भएको हो । गत वैशाखदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा रहेका उनलाई गत साउनमा सिभिल हस्पिटलमा भर्ना गरिएको थियो । तर बोनम्यारो ट्रान्सप्लान्टको अन्तिम तयारी गर्दैगर्दा निधन हुनपुग्यो । शर्माको निधनले उनको परिवारले एक सदस्य मात्र गुमाएन समग्र कर्णाली प्रदेशले नै एउटा उज्वल भविष्य बोकेको कलमजीवि (पत्रकार) गुमाएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारितामा राम्रो भविष्य बोकेका शर्मालाई गुमाउनु कर्णालीकै पत्रकारिताले क्षति बेहोर्नु परेको बताए ।
दैलेखबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका शर्मा पढ्दै पत्रकारितामा सक्रिय थिए । उनले वि.सं. २०६७ सालबाट पत्रकारिता सुरु गरे । पत्रकारिता थालेको छोटो समयमै कर्णालीको पत्रकारितामा आफूलाई स्थापित गरेका मात्रै थिएनन् उज्वल भविष्यको बाटो पनि कोर्दै थिए । शर्माको निधनले आफूले एक असल, इमान्दार शिष्य र कुशल पत्रकार गुमाएको बताउँछन् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक भानुभक्त अधिकारी ।
अध्ययनमा लगाव भएका उनी नयाँ–नयाँ विषयवस्तु जान्न र बुझ्न रुचि राख्थे । मेहेनती, लगनशील र मिलनसार स्वभावले शर्मालाई आफ्नो कार्यथलोमा मात्र नभइ बाहिर पनि सबैको प्रिय बनाएको थियो । उनी पत्रकारितालाई नै आफ्नो ‘करियर’ बनाउन चाहन्थे । पत्रकारिता गर्दै आफ्नो अध्ययनलाई अघि बढाउनुपर्ने त थियो नै सँगसँगै वृद्ध हजुरआमा, आमा र बहिनीको साहारा पनि थिए, शर्मा । उनी र उनकी बहिनी नानकला शर्मा सानै छँदा बुवाको निधन भएको थियो । हजुरआमा र आमाले दुःखजिलो गरेर हुर्काएका डिलप्रसाद नै यतिबेला उनीहरूको अभिभावक बनेका थिए । निम्न आर्थिक अवस्था भएको परिवारको घर खर्च चलाउनेदेखि आफूसँगै बहिनीलाई पढाउने जिम्मेवारी पनि उनकै काँधमा थियो । तर उनको निधनले यतिबेला शर्माको परिवार असैह्य शोकमा छ । बहिनी नानकला दाजुको निधन पत्याउनै मुस्किल भइरहेको बताउँछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘घरको एक्लो हजुरआमा, आमा अनि तपाईं विना एक्लिएकी म बहिनीलाई साँच्चै सधैंको लागि छोडेर जानु भएको दादा तपाईं ?’
प्रकाशित मितिः ३० कार्तिक २०७६, शनिबार १०:४०
साझा बिसौनी ।