दशगजामा मिचियो नेपाली भूमि

काठमाडा : भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको बेला मोरङमा पनि दशगजा मिचिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मोरङका १७ स्थानमा दशजगा मिचिएको छ । ६३ दशमवल २ किलोमिटर सिमाना रहेको मोरङका १७ स्थानमा टहरा निर्माण भएका छन् । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार दशगजा मिचिएको स्थानहरूमा १० वटासम्म टहरा निर्माण भएका छन् । दशजगा मिचेर निर्माण भएका टहरा हटाउन भारतीय पक्षसँग पटक–पटक छलफल भए पनि कार्यान्वयन नभएको उनले बताए ।

सीमा सुरक्षाका विषयमा वर्षमा दुई पटक मोरङमा भारतीय सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखबीच छलफल हुन्छ । ६–६ महिनामा हुने जिल्लास्तरीय सीमा सुरक्षा बैठक बस्ती हटाउने निर्णय भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ । दुवै देशका जिल्लास्तरीय पदाधिकारी सीमा क्षेत्र खाली गराउन तयार भए पनि दशगजामा बसोबास गर्नेलाई अन्यत्र स्थानान्तरण गर्न माथिल्लो तहबाट समन्वय आवश्यक रहेको भण्डारीले बताए । ‘दशगजामा बस्ने समस्या नयाँ होइन वर्षाैंदेखि बसोबास गरिहेका छन् ।’ भण्डारी भन्छन्, ‘साना झुपडीमा प्रायः बुढाबुढी मात्र बसेका छन् ।’ उनका अनुसार नयाँ अतिक्रमण भने भएको छैन । मोरङको ६३ किलोमिटर खण्डमा साना ठूला गरी जम्मा एक सय २३ वटा सीमा स्तम्भहरू छन् । ती स्तम्भहरू सुरक्षित रहेको उनले बताए ।

प्रकाशित मितिः   ३० कार्तिक २०७६, शनिबार १०:३७