सिद्धपाइलाका पुरी नेपाल द्वितीय

सुर्खेत : बीबीएस चौथो वर्षको परीक्षामा सिद्धपाइला क्याम्पस सुर्खेतका विद्यार्थी खगेन्द्र पुरी नेपाल दोस्रो भएका छन् । गत वर्ष लिइएको परीक्षामा पुरी नेपाल दोस्रो भएको क्याम्पसले दावी गरेको छ । पुरीले कूल पूर्णाङ्क पाँच सयमा चार सय १८ अंक प्राप्त गरी नेपाल दोस्रो भएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीका अनुसार काठमाडौंको नवोदित कलेजका विद्यार्थीले चार सय २६ अंक प्राप्त गरी नेपाल प्रथम भएको र सिद्धपाइला क्याम्पसका विद्यार्थी पुरी नेपाल दोस्रो भएका हुन् । लब्धाङ्क–पत्र आइसकेपछि निवेदनसहित परीक्षा नियन्त्रण कार्यालय काठमाडौंबाट नेपाल दोस्रोको दावीलाई पुष्टि गरिने समेत उनले जनाए । साथै उनले क्याम्पसले विगतमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको बताए । क्याम्पसबाट परीक्षामा ५२ जना विद्यार्थी सहभागी भएकोमा चार जना विशिष्ठ श्रेणीमा, २६ जना प्रथम श्रेणीमा र अन्य २० जना द्वितीय श्रेणीमा उत्तीर्ण भएको उनले जानकारी दिए । ‘गत वर्ष लिइएको बीबीएस प्रथम वर्षको परीक्षामा समेत विद्यार्थी भोजराज भण्डारी कर्णाली प्रदेश प्रथम भएका थिए’ सुवेदीले भने, ‘अझै व्यवस्थापन संकायमा क्याम्पसले आफ्नोस्तर बढाउँदै लैजाने छ ।’ उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा क्याम्पस अघि बढिरहेको जनाए ।

प्रकाशित मितिः   ३० कार्तिक २०७६, शनिबार १०:३६