उत्पादनमुखी सहकारीमा जोड

सुर्खेत : कृषि सहकारीलाई उत्पादनमुखी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाको वीरेन्द्रनगरमा सम्पन्न आठौं वार्षिक साधारणसभामा सहभागीले कृषि सहकारीलाई व्यावसायिक तथा उत्पादनमुखी बनाउनुपर्ने बताएका हुन् ।

उनीहरूले कृषि सहकारी संस्थाहरूले व्यावसायिक रूपमा कृषिमा लगानी गरेमात्र कृषकको आयस्तर बढाउने बताएका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसीले कृषि सहकारीहरूले वित्तीय क्षेत्रभन्दा कृषि कर्म गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले सहकारीको माध्यमबाट परिवारमा खुशी ल्याउन सकिने भन्दै सहकारीबाट लिएको ऋणलाई उत्पादनमा लगाउनुपर्ने बताए ।अध्यक्ष बिसीले बाह्य मुलुकबाट तरकारी लगायतका अन्य खाद्यान्न साम्रगी थुप्रै मात्रामा आउने गरेको भन्दै अब हरेक किसानले आफैले उत्पादन गरेर आम्दानी गर्नेतर्फ लाग्न सुझाव दिए । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष पञ्चकला रावतले सरकारले कृषिक्षेत्रमा लगानी बढाउन नसक्दा सोचे अनुरूप कृषिबाट फाइदा लिन नसकिएको बताइन् । उनले कृषि क्षेत्रमा लगानी गर्न नस्कदा अहिले कृषकहरू कृषि पेसाबाट नै पलायन हुने अवस्था पुगेको भन्दै यसतर्फ प्रदेश र स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरिन । यस्तै कृषक हाटबजार सुर्खेतका अध्यक्ष प्रवल शाहीले किसानहरूले उत्पादन गरेका सबै उत्पादनहरू आफूले खरिद गर्ने भन्दै ढुक्कका साथ तरकारी उत्पादन गर्न आग्रह गरे ।

प्रकाशित मितिः   ३० कार्तिक २०७६, शनिबार १०:३३