सुत्केरीले पाएनन् भत्ता

जुम्ला : जुम्लाका गर्भवती महिलाले बर्थिङ्ग सेन्टरमा सुत्केरी भए वापत पाउने रकम पूर्णरूपमा नपाएको गुनासो गरेका छन् । जनस्वास्थ्य कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७५÷०७६को प्रगति प्रतिवेदन तथा समीक्षा गोष्ठीमा जुम्लाको हिमा गाउँपालिका बाहेकका सुत्केरी महिलाले पूर्णरूपमा यातायात खर्च वापत दिइने सुत्केरी भत्ता नपाएको देखिएको हो । तिला गाउँपालिका, कनकासुन्दरी गाउँपालिका लगायतका सुत्केरी महिलाले पूर्ण रूपमा सुरक्षित सुत्केरी गराए वापतको प्रोत्साहन रकम नपाएको वार्षिक प्रतिवेदनमा देखाइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रेम केसीले गत वर्षको तुलनामा सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्था आउने महिलाको संख्या बढ्दै गएको दावी गरे । स्वास्थ्य सेवा निर्देशनालयका बसन्त श्रेष्ठले सुत्केरी महिलाहरूले पाउनुपर्ने भत्ता रकम पूरै दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले भने, ‘सरकारले कुनै पनि गर्भवती महिलाको पैसाको अभावमा मृत्यु नहोस् भनेर नै स्वास्थ्य संस्थामा सुत्केरी भए वापत खर्च दिने गरेको हो ।’ उनले जनस्वास्थ्यको तथ्यांकमा पूर्णरूपमा सुत्केरी महिलाले भत्ता नपाएको प्रति सबै तहका स्वास्थ्य संयोजकहरूको ध्यानार्कषण गराए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७६, बिहीबार ०८:१५