कर्णालीमा उप–निर्वाचन

आठ जनाको उम्मेदवारी

सुर्खेत : आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि कर्णाली प्रदेशमा आठ जनाको उम्मेदवारी परेको छ । कर्णालीका दुई ठाउँमा उप–निर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षका लागि उप–निर्वाचन हुने भएको हो । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा संयुक्त)बाट उम्मेदवारी परेको छ । हुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार नेपाली कांग्रेसबाट ताराकुमारी शाही, नेकपाबाट रूपा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनका अनुसार मतदानका लागि गाउँपालिकाभित्र पाँच वटा मतदान स्थल रहेका छन् भने पाँचै वटा मतदान केन्द्र तोकिएको छ । गाउँपालिकाभित्र तीन हजार तीन सय ८७ मतदाता रहेको शर्माले जानकारी दिए । खार्पुनाथकी तत्कालीन उपाध्यक्ष सिन्दु हमाल शाहीको गत असार ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । त्यसमा दुई जना स्वतन्त्र उम्मेदवार छन् । तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उप–संयोजकमा निर्वाचित भएपछि त्यहाँ वडा अध्यक्षको पद रिक्त छ । उक्त पदमा नेपाली कांग्रेसबाट खड्कबहादुर बोहरा, नेकपाबाट धर्मे बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका छन् । यस्तै, त्रिबहादुर गिरी र दलवीर बस्नेतले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाले जानकारी दिए ।

पछिल्लो तथ्याङ्क अनुसार उक्त वडामा एक हजार आठ सय ३९ जना मतदाता रहेका छन् । मतदानका लागि एउटा स्थलमा ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र कायम गरिएको बुढाले जानकारी दिए । कर्णाली प्रदेशमा स्थानीय तहका विभिन्न पदमा हुने उप–निर्वाचनका लागि केही प्रतिस्पर्धी पूरानै दोहोरिएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि हुने उप–निर्वाचनका लागि नेकपाले रूपा शाहीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि २०७४ मा भएका निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेका तर्फबाट उपाध्यक्षको उम्मेदवार थिइन् ।
यस्तै सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षका लागि हुने उप–निर्वाचनका लागि नेपाली कांग्रेसले खड्कबहादुर बोहरालाई उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनी तत्कालीन वडाअध्यक्ष हरिप्रकाश बुढाथोकीसँग पराजित भएका थिए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७६, बिहीबार ०८:२२