लैङ्गिक हिंसा अन्त्य गर्न सामूहिक प्रतिबद्धता

सुर्खेत : लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मन्त्री तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समन्वय समितिका, गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको वर्ष अभियान २०७६ को वार्षिक कार्यान्वयन कार्ययोजनामाथि समेत सुझाव संकलन गरिएको थियो । कार्ययोजनामा समेटिएका अधिकांश कार्यक्रम अन्तरक्रियात्मक तथा चेतनामूलक भएकोले कार्ययोजनालाई सुधार्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लैङ्गिक हिंसा अन्त्यका लागि परम्परागत सोचलाई परिवर्तन गर्नुपर्ने बताए । गरिबी कर्णालीको लैङ्गिक हिंसाको प्रमुख जड भएकोले यसलाई हटाउन सबै लाग्नुपर्ने धारणा उनले राखेका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले महिलाहरूलाई आर्थिक रूपमा समृद्ध बनाए मात्रै हिंसाको अन्त्य गर्न सकिने बताइन् । उनले बाहिर अधिकारका कुरा गर्ने पुरुषहरूले समेत पैत्रिक सम्पत्तिमा छोरी, बुहारीलाई अधिकार नदिनुले महिला हिंसा न्यूनीकरण हुन नसकेको बताइन् । यसका लागि सबैले आफ्नो घरबाट अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले नीति निर्माणलाई बलियो बनाए मात्रै लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिलाहरू सवल हुनका लागि हिंसामुक्त हुनुपर्ने बताएका थिए । आठबिसकोट नगरपालिकाकी उप–प्रमुख दीपा बोहोराले महिला हिंसा अन्त्यका लागि स्थानीयस्तरबाटै योजना बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले घरको कामबाटै हिंसाको सुरुवात हुने भएकोले कामको बाँडफाँडको मानसिकता हटाउनुपर्ने बताइन् । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६÷ २०७७ लाई सफल पार्न तथा लैङ्गिक हिंसाविरुद्धको वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न गराउनका लागि सहभागी सबैले प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः   २७ कार्तिक २०७६, बुधबार ०८:२४