नयाँ मन्त्रिपरिषद् केही दिनमै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा ठूलै हेरफेर गर्ने गरी नयाँ मन्त्रीहरूको सूची तयार गरेका छन् । सबै मन्त्रीहरूलाई राजीनामा दिन लगाएर राम्रो काम गरेका केही पूराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा जसलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना सहयात्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सोमवार साँझसम्म ९ जना मन्त्री हटाउने सूचीमा राखेका छन् भने आकांक्षीहरूको संख्या ठूलो भए पनि नयाँ थपिने मन्त्रीहरूको सूची पनि तयार गरिसकेका छन् । ओलीले नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुईतिहाइ बहुमतको सरकार बनेको करिब एक वर्ष ९ महिनापछि मन्त्रिपरिषद्मा ठूलो हेरफेर गर्न लागेका हुन् । सोमवार बिहान बसेको नेकपाको सचिवालय बैठकबाट निर्णय गराएर तत्कालै मन्त्रिपरिषद् हेरफेर गरिने चर्चा व्यापक भए पनि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आएका कारण ओलीले यसलाई केही दिन पर धकेलेका हुन् ।

यस्तै समाजवादी पार्टीका उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेकाले प्रधानमन्त्रीले उनको निर्णय पनि पर्खेका छन् । कार्तिक ३० गते समाजवादी सरकारबाट बाहिरिने सूचना आएकाले त्यो अवस्था पनि हेरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी छ । स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट बिदा गर्ने तयारी गरिएको छ । बिदा हुन लागेका १० मध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने बाँकी ७ जना पूर्वएमालेबाट छन् । वर्तमान मन्त्रिपरिषद्का १० मन्त्री बिदा गरेर ८ जनालाई यथावत् राख्ने अन्तिम तयारी ओलीले गरेका छन् ।