मैत्रीपूर्ण क्रिकेटमा एमएस एकेडेमी विजयी

सुर्खेत : सुर्खेतका सञ्चालित मैत्रीपूर्ण क्रिकेटमा एमएस क्रिकेट एकेडेमी सुर्खेत विजयी भएको छ । एक दिवसीय र टि–ट्वान्टी दुवै खेल एमएसले जितेको हो । मंगलवार सम्पन्न प्रतियोगिताको दोस्रो एवम् अन्तिम खेलमा आयोजक एमएस एकेडेमी ५१ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको एमएसले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ९६ रनको लक्ष्य दिएको थियो । जसमा यू–१९ का राष्ट्रिय खेलाडी समेत रहेका रविन्द्रजङ्ग शाहीले ४३ बलमा विष्फोटक ब्याटिङ्ग गर्दै ८९ रन प्रहार गरे । अर्का ब्याट्सम्यान भविन सारु मगरले ३८ बलमा अर्धसतकीय पारी खेल्दै ५० रन पूरा गरे भने मोहन जिसीले १५ रन थपे ।

बलिङ्गतर्फ महाभद्रकाली क्रिकेट क्लब दाङका बलर जम्बो मगर र राजेन्द्र शाहीले समान १÷१ विकेट लिए भने अन्य बलरले सफलता हात पार्न सकेनन् । यस्तै लक्ष्य पछ्याउने क्रममा महाभद्रकाली क्रिकेट क्लब १९ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय ४४ रनमा समेटियो । महाभद्रकालीका ब्याट्सम्यान रिक्की शाहीले बिष्फोटक इनिङ खेले पनि लक्ष्यमा पु¥याउन सकेनन् । उनले १३ बलमा सर्वाधिक ४१ रन प्रहार गरे भने दिवान पुन मगरले २७ रन मात्र जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

एमएसका लोकेशजङ्ग हमाल, जनक भण्डारी, प्रज्वल सिंजाली, मोहन जिसी र भरत बुढाले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच रविन्द्रजङ्ग शाही भएका छन् । यस्तै सोमवार भएको एकदिवसीय खेलमा पनि एमएस क्रिकेट एकेडेमीले महाभद्रकाली क्रिकेट क्लब दाङलाई दुई विकेटले हराएको थियो । उक्त खेलमा पनि एमएसका ब्याट्सम्यान रविन्द्रजङ्ग शाहीले ४० बलमा सर्वाधिक ७७ रन प्रहार गरेका थिए । एमएस क्रिकेट एकेडेमीको आयोजनामा मैत्रीपूर्ण प्रतियोगिता सोमवार र मंगलवार दुई दिनसम्म सञ्चालन भएको एकेडेमीका सञ्चालक मोहन शाहीले बताए । उनले सुर्खेतमा क्रिकेटको माहोल बढाउन एवम् क्रिकेटमा निखारता ल्याउन आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्ने जनाए ।

प्रकाशित मितिः   २७ कार्तिक २०७६, बुधबार ०८:२०