प्रादेशिक सहिद स्मृति पार्क निर्माण हुँदै
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को भैरम सामुदायिक वनको हाताभित्र प्रादेशिक सहिद स्मृति पार्क तथा वनस्पति उद्यान निर्माण हुन लागेको छ । कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले उक्त पार्क निर्माण गर्न लागेको हो । कर्णाली प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री यामलाल कँडेलले मंगलवार पार्कको शिलान्यास गर्दै सहिदहरूको योगदानलाई स्मरण गराउँदै प्रदेश राजधानीमा अर्को पर्यटकीय क्षेत्रको विकास हुन लागेको बताए । पार्कको कामलाई कुनै पनि वहानामा बीचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिँदै नेता कँडेलले वरीपरीका समुदायहरूले पनि अपनत्व महसुस गरेर समयमै सक्नका लागि पहल, दवाव र निगरानी गर्न आव्हान गरे ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाभित्र निर्माण हुने सहिद स्मृति पार्कले नगरको मात्र नभइ समग्र जिल्ला र प्रदेशको गरिमा बढाउने बताए । साथै स्थानीय सरकारबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक शिवराम अधिकारीले पार्क निर्माणको काम गत वर्षदेखि नै सुरु हुनुपर्ने भए पनि कर्मचारी समायोजन, कार्यालय खारेजका कारण एक वर्ष ढिलाइ भएको बताए ।
उनले अब पार्क निर्माणको काम द्रूत गतिमा बढ्ने र कुनै पनि बहानामा नरोकिने उल्लेख गरे । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनालले वडाभित्र निर्माण हुने प्रदेशको गौरवको योजना भएकोले यसमा चासो राख्न वडाबासीहरूसँग आग्रह गरे । निर्देशनालयको भू तथा जलाधार व्यवस्थापन अधिकृत शेखर चपाईंले यो पार्क आठ करोड बढीको लागतमा निर्माण हुनेछ । यस वर्ष पार्कका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको र त्यसबाट एक करोड २८ लाखको टेण्डर भइ काम थालिएको बताए । पार्कमा सहिद स्तम्भ, बाल उद्यान, वनस्पति उद्यान, वनभोज पार्कलगायतका संरचनाहरू निर्माण गरिनेछ ।
प्रकाशित मितिः २७ कार्तिक २०७६, बुधबार ०८:१६
साझा बिसौनी ।